सर्वोच्चद्वारा माधव नेपालको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १३।
सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका नेताहरुको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।
माधव नेपालसहितका नेताहरूको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेको आधारमा अन्तरिम आदेश दिइरहन नपर्ने ठहर गरेको हो ।
एमालेबाट निलम्बनमा परेका चारजना नेताले आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रीट निवेदन दर्ता गराएका थिए ।
नेताहरु माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्त रूपमा पेस गरिएको १४ बुँदे मागसहितको रिटमा आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिषेध आदेशद्वारा बदर तथा रोक्का गरीपाउँ भनिएको थियो ।
रिट निवेदक नेताहरुको तर्फबाट बरिष्ठ अधिवक्ताहरु शम्भु थापा,हरिप्रसाद उप्रेती,खगेन्द्र प्रसाद अधिकारी,चन्द्रकान्त ज्ञवाली,टीकाराम भट्टराई,,गोविन्द बन्दी लगायतले बहस गर्दै केपी ओलीबाट हुने सम्भावित कारवाहीलाई रोक्न अन्तरिम आदेश दिनु उपयुक्त हुने जिकिर गरेका थिए ।