पाँचौं राफ्टिङ तथा नवौं कायाक स्लालम च्याम्पियनसिपमा नेपाल राफ्ट एन्ड कायाक विजयी

कपन अनलाइन

सिन्धुपाल्चोक ,बैशाख १०।

पाँचौं राफ्टिङ तथा नवौं कायाक स्लालम च्याम्पियनसिप अन्तर्गत राफ्टिङ स्पर्धाको उपाधि नेपाल राफ्ट एन्ड कायाक क्लब फिस्लिङले जितेको छ । स्प्रिन्टमा ९२, हेड टु हेडमा दुई सय, स्लालममा तीन सय ५० र डाउन वाटर रेसमा तीन सय २२ गरी नौ सय ६४ अंकका साथ नेपाल राफ्ट एन्ड कायाक क्लब च्याम्पियन बनेको हो ।
यसैगरी दोस्रो स्थान हात पारेको त्रिभुवन आर्मी क्लबले स्प्रिन्टमा ८६, हेड टु हेडमा एक सय ८४, स्लालममा दुई सय ६६ र डाउन वाटर रेसमा तीन सय एक गरी आठ सय ३७ अंक जोड्यो । तेस्रो स्थान हात पारेको प्याडल नेपालले स्प्रिन्टमा ७६, हेड टु हेडमा एक सय ५२, स्लालममा तीन सय एक र डाउन वाटर रेसमा दुई सय ८७ गरी आठ सय १६ अंक जोड्यो ।
नेपाल राफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा धादिङको त्रिशुली नदीमा भएको च्याम्पियनसिपको उपाधि विजेता नेपाल राफ एन्ड कायाक क्लब फिस्लिङले २५ हजार नगद पुरस्कार प्राप्त गर्यो  । यस्तै दोस्रो भएको त्रिभुवन आर्मी क्लबले १५ हजार र तेस्रो स्थानमा चित्त बुझाएको प्याडल नेपालले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो  ।
यसैगरी नवौं राष्ट्रिय कायाक स्लालम च्याम्पियनसिपतर्फ सुमन तामाङ पहिलो, राजीप त्रिपाठी दोस्रो र सुरेन्द्र माझीले तेस्रो स्थान हात पारे । कायाक स्लालमतर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीले क्रमशः सात हजार, चार हजार पाँच सय र तीन हजार नगद पुरस्कार प्राप्त गरे । महिलातर्फकी एक्ली सहभागी सुष्मा कठायतलाई प्रोत्साहन स्वरुप एक हजार पाँच सय नगद पुरस्कार प्रदान गरिएको थियो ।
मंगलबारबाट सुरु भएको च्याम्पियनसिपमा कायाकमा ५० जनाले प्रतिस्पर्धा गरेका थिए । यस्तै राफ्टिङमा १० टोलीले सहभागिता जनाएका थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल राफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ, उपाध्यक्ष महेन्द्र थापालगायतले पुरस्कार प्रदान गरे ।

तपाइँको प्रतिक्रिया ।