नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचय–पत्र दिने

कपन अनलाइन
काठमाण्डौ ,बैशाख ६।
नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचय–पत्र दिने भएको छ । वाङ्मयका साधक लेखक/साहित्यकारलाई परिचय–पत्र दिनका लागि कार्यविधिसमेत तयार गरेको छ  ।
प्राज्ञपरिषद् सदस्य प्रा.डा. योगेन्द्रप्रसाद यादवको संयोजकत्वमा गठित प्राज्ञपरिषद् सदस्यहरू प्रा.डा. उषा ठाकुर, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल रहेको पाँच सदस्यीय कार्यदलले हप्ता दिन पनि नबित्दै लेखक/साहित्यकार परिचय–पत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन कुलपतिसमक्ष बुझाएको छ । संशोधनसहित कार्यविधि तयार पार्नका लागि कार्यदललाई १५ दिनको समयसीमा दिएको थियो । कार्यदलले लेखक/साहित्यकार एवम् विज्ञहरूसँग विभिन्न चरणमा छलफल र परामर्श गरी कार्यविधिको संशोधित मस्यौदा तयार पारी बुझाएको हो ।
कार्यविधिको मस्यौदा बुझ्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले भने , “मुलुकका वाङ्मय साधकहरूलाई परिचय–पत्र दिने पहिलेदेखिकै योजनालाई अब हामी साकार रूप दिँदैछौँ । यही महिनाभित्र राष्ट्रपतिज्यूको बाहुलीबाट परिचय–पत्र वितरण आरम्भ गरिने छ ।”
उनले छोटो समयमै कार्यविधिको संशोधित मस्यौदा तयारी पारी बुझाएकामा कार्यदललाई धन्यवाद समेत दिएका थिए  ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायका अनुसार ‘लेखक/साहित्यकार परिचय–पत्र’ नामाकरण गरिएको परिचय–पत्रमा लेखक/साहित्यकारको नाम/उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइने छ ।
उनले भने , “कुनै पनि स्रष्टालाई श्रेणीकरण गरिने छैन । परिचय–पत्र पाउनका निम्ति सम्बन्धित लेखक/साहित्यकारले आफ्नो कृतिसहित आवेदन दिनुपर्ने छ ।”
तपाइँको प्रतिक्रिया ।