महोत्तरी बाट बेपत्ता भएका ७ बालिका र १ किशोरी भारतमा भेटिए

महोत्तरी बाट बेपत्ता भएका ७ बालिका र १ किशोरी भारतमा भेटिए

कपन अनलाइन

महोत्तरी,चैत्र १८।

 

महोत्तरीको भंगहा नगरपालिका–८, धर्मपुर टोलबाट हिजो दिउँसो बेपत्ता भएका ७ जना बालिका र १ जना किशोरी आज बोर्डरबाट ३५ किलोमीटर दुरीमा रहेको  भारतको सीतामढी नजिकैबाट नेपाल फर्किँदै छन् ।

घाँस काट्ने नाममा हुल बाँधेर निस्किएका बालिकाहरू एकाध घण्टामै भारतको सीमावर्ती शहर सीतामढी नजिकै पुग्नु रहस्यमय बनेको  छ।

धर्मपुरबाट भारतको सीतामढी ५० किलोमिटर टाढा पर्छ । बोर्डरबाट ३५ किलोमिटर टाढाको उक्त स्थानमा केटीहरूलाई कसले के उद्देश्यले लगेको थियो भन्ने यथार्थ उनीहरू फर्केपछि मात्र थाहा हुने प्रहरीले बताएको छ ।

हिजो छोरीहरू हराएपछि अभिभावकले प्रहरीमा तत्काल जानकारी गराएका थिए भने नेपाल प्रहरीले भिट्टामोड सीमा नाकामा खटिएको भारतीय प्रहरीलाई हुलियासहित जानकारी गराएको थियो । त्यहि हुलियाको आधारमा भारतीय प्रहरीले केटीहरूको समूहलाई सीतामढी नजिकै राती नै फेला पारेको व्यहोरा नेपाल प्रहरीलाई जानकारी गराएको थियो ।

महोत्तरीको जलेश्वर भन्सार पोष्टमा कार्यरत सशस्त्र प्रहरी बलका इन्सपेक्टर बिर्खबहादुर शाहीको टोली बालिकाहरूको उद्धारको निम्ति अहिले भारततर्फ गएको छ । हराएका बालिका र किशोरीहरूलाई आजै साँझसम्ममा परिवारको जिम्मा लगाइने बुझिएको छ ।

अकस्मात हराएर सीमावर्ती भारतीय शहर पुगेका बालिका तथा किशोरीहरूमा नगिना पासवान,रिया पासवान,अर्चना पासवान,ज्योति पासवान,रञ्जना पासवान,सीमा पासवान,रचना पासवान,अस्मिता पासवान हुन् । तीमध्ये दुईवटी १८ वर्षीया,दुई जना १५ वर्षीया,तीन जना १० वर्षीया र १३ वर्षीया एक जना हुन् ।

तपाइँको प्रतिक्रिया ।