फलेकमा देउता चढेको छ : पूर्णकुमार शर्मा (कविता )

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १७।

यसरी देउता घरमै बास बस्न
गाँस थप्न, रौस भर्न, खबर छर्न….
के के हो केके देखाउन आफ्नो
चुलोमा, मझेरीमा, गोजिको चेपमा
चौवन्दीको खल्तीमा सास थुनेर
बसिदिन्छ भन्ने मनमा चारानीभर थिएन,
हो सपनीमासम्म सुइँको नपाइ देउता
आएर घरको जँहान जस्तै ड्याम्मै बसे ।

देश, प्रदेश, जिल्ला, अड्डा, मुलुकभर
एक्लै क्षणभरमै रनन्न हुने गरी टनन्न बज्ने
हिँड्दै बजार गर्दै सुत्दै उठ्दै हरेकपल
देउता देउराली पाखा, हिमालको शाखा
कहाँ नपुग्दो होला, छक्क प¥याछु
मेरो घरको चुलोमा पनि उत्तिकै दखल छ
मेरो फलेकको ।

देउता खुसाए दुर्भाग्यको साटो सौभाग्यको बाटो देखाउने,
भाँति नपुगे संसारै टुटाउने
रमाए घरैमा धनपति नत्र खलपत्रे पारी छाडने
यो देउता घरमै बढेको थानमा चढेको
रम्य रमिता एउटा विश्वविद्यालय पनि हो !

यस्ले हजुर खलपत्रेलाई चिल्लो पार्छ
सारसँउदो सामु नदेखिईकन
आकाशका ताराझार्छ,
उस्तै पार्छ मोहनी लगाउँछ, ताक परे
बोलिले ताराझारछ कर्मले दाह्राझार्छ
जीँउदै दिँउसै हूरूक्क जुरूक्क फुरूक्क
उस्तै पार्छ यो देउता चढेको बेला
लोग्ने स्वास्नी जोड्छ पनि फोर्छपनि।

योत उहिलेको कामधेनु,
तिलस्मीको कथा नै हो,
यो प्रचारको संस्कार देखि पल्लो पट्टि
संहारको पनि उत्तिकै देउता हो ।
यसले बोले पुग्छ,
फोटो हाले हुन्छ
चिटिक्क पार्छ सल्लाह छर्छ,
कोहित भुङ्ग्रिएर सग्लो मूर्ति सामु आत्मसमर्पण गराँउछ ।

यो देउता शुद्ध ‘सेकुलर’ छ
वुद्ध, यीशु, कृष्ण, राम छुट्टै छैन नाम
अराए देउताले गर्छ काम
पाँच सौ पचपन्न तीन महिनाको ज्याला
वाइस्कोप भजन खेल निर्वाचन
देउताको भर मान्छे मान्छेको भर देउता
सबै थोक सेवा गर्छ खल्तीमा बसेर।

यो भनेर नसकिने गाएर स्वर नपुग्ने कथा
मेरो छातीमा टाँस्सिएर
कानैमा गाँस्सिएर
ओठमा झुण्डिएर
गालोमा लेपासिएर
कोठामा फाँस्सिएर
जस्तै बाट जहिल्यै
जाग्राम बसेर मेरो भाकल पुकार्ने
देउता तिम्रो हाम्रो सबैको देउता
फलेक जस्तो फलेकमा
फलेकको हाम्रो देउता राम्रो देउता
कुलाइन जत्तिकै माया लाग्दो
सबैको साँझा देउता
फलेकमा फलेक देउता घरमै
सबैको सहमतिमा बसेको देउता ।
यस्तो देउतालाई नमस्कार छ
नमस्कार छ नमस्कार छ ।

(समारदलनि विश्वनाथ असम)

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।