पूर्व राज्यमन्त्री लालबाहादुर बिश्वकर्मालाई विश्व मंच नेपाल ( ग्लोबल फोरम) को सहयोग
कपन अनलाइन
काठमाडौं ,चैत्र ४।
जातिय विभेदविरुद्ध विश्व मंच नेपाल ( ग्लोबल फोरम) ले ब्रेन ह्याम्रेज भइ उपचाररत पूर्व राज्यमन्त्री लालबाहादुर बिश्वकर्मालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
अमेरिकामा बसोबास गर्दै आउनु भएका जा तिभेदविरुद्ध विश्व मंच नेपालका केन्द्रीय अध्यक्ष तिर्थ बर्मा (बिश्वकर्मा)को अगुवाईमा संकलित रकम ७३ हजार ६ सय रुपैयाँ बुधबार ग्लोबल फोरम नेपाल च्याप्टरका अध्यक्ष संगम गहतराजले ग्लोबल फोरम नेपाल च्याप्टरका इन्चार्ज मोहन बिश्वकर्माको उपस्थितिमा हस्तान्तरण गरेका छन ।
रकम ग्रहण गर्दै पूर्वराज्यमन्त्री बिश्वकर्माले आर्थिक सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै आफू स्वास्थ्य लाभ गरे लगतै दलित मुक्तिको आन्दोलनमा आफू निरन्तर लागि पर्ने बताउदै समाजमा अझै कायम रहेको जातीय विभेदको मुद्दा राजनीतिले सम्बोधन गर्नु पर्ने र बिचारको राजनीतिले विभेद अन्त्य गर्नुपर्ने बताएका थिए ।
रकम हस्तान्तरण पश्चात ग्लोबल फोरम नेपाल च्याप्टरका अध्यक्ष गहतराजले दलित पूर्वराज्यमन्त्री बिश्वकर्माले दलित मुक्ती आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै उपचारका लागि आर्थिक अभाव हुन नदिने र अझै सहयोगका लागि विभिन्न निकायहरुसंग पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । त्यस्तै ग्लोबल फोरम नेपाल च्याप्टरका इन्चार्ज मोहन बिश्वकर्माले राज्यले दलित मुक्ती आन्दोलनका एक नेतृत्वलाई बेवास्ता गरेको भन्दै उपचारमा सहयोग गर्न राज्यको ध्यानाकर्षण गराएका थिए।
रकम हस्तान्तरणका क्रममा ग्लोबल फोरम नेपाल च्याप्टरका उपाध्यक्ष एकराज लकान्द्री , ग्लोबल फोरम नेपाल च्याप्टरका कोषाध्यक्ष एवं पत्रकार कमला रसाइली, अधिकारकर्मी कमल बिकलगायतको उपस्थिति रहेको थियो । पूर्वराज्यमन्त्री बिश्वकर्मा लामो समयदेखि ब्रेन ह्याम्रेज भएर राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरमा उपचार गराइरहेका छन ।