“स्मृतिमा रवीन्द्र अधिकारी” स्मृतिग्रन्थको लोकार्पण

“स्मृतिमा रवीन्द्र अधिकारी” स्मृतिग्रन्थको लोकार्पण

कपन अनलाइन

काठमाडौं ,फागुन २२ ।

ताप्लेजुङको पाथिभरानजिकै तारेभिरमा २०७५ फागुन १५ गते भएको हेलिकप्टर दुर्घनामा परी तत्कालीन मन्त्री एवं नेकपाका नेता रवीन्द्र अधिकारीको देहावसान भएको दोस्रो स्मृति दिवसका अवसरमा हिजो फागुन २१ गते रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा ‘स्मृतिमा रवीन्द्र अधिकारी’ स्मृतिग्रन्थको प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लोकार्पण गरेका छन ।

सो अवसरमा प्रमुख अतिथि कुलपति उप्रेतीले रवीन्द्र अधिकारी एक सच्चा राजनीतिक व्यक्तित्व हुनुभएकाले उहाँले कोरा राजनीति मात्र गर्नुभएन, सामाजिक मुद्दालाई समेत राजनीतिसँग जोडेर उठाउनुभयो र राजनीतिलाई मुलुक र जनताको पक्षमा प्रयोग गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा लागेको धारणा राखेका थिए।

राजनीतिक, प्राज्ञिक एवं सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सघन उपस्थिति रहेको सो कार्यक्रममा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका सल्लाहकार एवं स्मृतिग्रन्थका सम्पादक प्रा.डा.हेमनाथ पैडेलले स्मृतिग्रन्थको सम्पादन पक्ष र ग्रन्थमा समेटिएका सामग्रीका बारेमा प्रकाश पारेका थिए  भने रवीन्द्र अधिकारीका अग्रज, समकालिक तथा सहकर्मीहरुका तर्फबाट उपकुलपति डा. जगमान गुरुङ, पूर्व मन्त्री खगराज अधिकारी, डा. विन्दा पाण्डे, गणेश पहाडी र लेखनाथ न्यौपाने लगायतले मन्तव्य राखेका थिए।

त्यस्तै विकास अभियन्ता डा. सूर्यराज आचार्य परिवारका तर्फबाट रवीन्द्रका भिनाजु प्रा.डा. भरतराज पहाडीले आफ्ना संस्मरण र रवीन्द्र अधिकारीको योगदानका बारेमा प्रकाश पारेका थिए ।

स्मृति प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईको अध्यक्षता र महासचिव धनराज आचार्यको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष कृष्णबहादुर थापाले स्वागत मन्तव्य र प्रतिष्ठानका सदस्य तथा स्मृतिग्रन्थका कार्यकारी सम्पादक रश्मि आचार्यले बधाई ज्ञापन गरेका थिए ।

स्मृतिग्रन्थमा राजनीतिक, प्राज्ञिक सामाजिक एवं पारिवारिक क्षेत्रका गरी १२२ जना लेखकका रचना र रवीन्द्र अधिकारीसँग सम्बन्धित तस्बिर लगायत ऐतिहासिक अन्य विभिन्न महत्त्वपूर्ण सामग्री समेटिएका छन् । ७०४ पृष्ठमा उक्त स्मृतिग्रन्थ रहेको छ ।

तपाइँको प्रतिक्रिया ।