साँखुको एक महिने लामो माधवनारायण श्री स्वस्थानी मेला सम्पन्न  

साँखुको एक महिने लामो माधवनारायण श्री स्वस्थानी मेला सम्पन्न  

कपन अनलाइन 

काठमाडौं ,फागुन १७ ।शंखरापुरको शालिनादिमा एक महिने लामो माधवनारायण   श्री स्वस्थानी मेला  समापन  भएको  छ । एक महिना लामो समयसम्म एक छाक खाई कष्टप्रद रुपमा व्रत बस्ने  स्थान शालिनदी तटमा दर्शनार्थीहरुको महिनाभरि नै भीड लागेको थियो ।पौष शुक्ल पूर्णिमा अर्थात माघ १५ गतेबाट सुरु भएको श्री स्वास्थानी व्रत आज माघ शुक्ल पुर्णिमा अर्थात फागुन १५ गते सकिएको छ ।ब्रत समापनको अवसरमा एकाबिहानै शाली नदीसहित, भक्तपुरको हनुमानघाट लगायत विभिन्न स्थानमा माधवनारायणका ब्रतालुहरु स्नानका लागि पुगेका थिए ।

कोभिड १९ का बीच सुरु भएको माधवनारायण शालीनदी मेला भर्न  विशेषगरि उपत्यका मात्र नभएर छिमेकी जिल्ला बाट पनि दर्शनार्थीहरु आएका थिए   । विगतका वर्षहरुमा भने नेपाल भित्रका मात्र नभई छिमेकी मुलुक भारतबाट समेत  आउने गर्दथे,  पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ।

यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण शालीनदी मेलामा व्रत बस्ने व्रतालुका लागि कठोर नियम बनाइएको थियो  । व्रतालुहरूको स्वास्थ्यलाई ख्याल गर्दै निमोनिया नभएको प्रमाण माग्नेदेखि निश्चित उमेर तोकेर मापदण्ड तयार पारिएको माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले जनाएको छ ।

 

समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठका अनुसार अघिल्ला वर्षमा चार सयभन्दा बढी व्रतालु सहभागी हुने सो मेलामा यस वर्ष बढीमा ५० जनालाई मात्र शालीनदी क्षेत्रमा व्रत बस्न अनुमति दिइएको छ । १५ जना पुरुष र ३५ जना महिलालाई मात्रै यस वर्ष शालीनदीमा व्रत बस्न मिल्ने गरी व्यवस्थापन मिलाइएको हो ।व्रतालुहरु २० देखि ५० वर्षसम्म उमेर समूहको हुनुपर्ने भनी उमेरहद तोकिएको  थियो  ।

साथमा पीसीआर वा एन्टिजिन टेस्ट गर्नुपर्ने, निमोनिया छ कि छैन भनेर एक्सरे गरेको रिपोर्ट देखाउनुपर्ने, क्रोनिक फ्लुहरू, मुटुरोग, फोक्सोमा समस्या भएका जस्ता व्यक्तिलाई व्रत बस्न नदिइने लगायत मापदण्ड तोकिएको  थियो  ।एक महिनासम्म  चलेको स्वस्थानी  व्रत र शालीनदि मेलामा करिब २० लाख भक्तजनले दर्शन गरेको माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिको अनुमान रहेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।