इन्द्रावती गाउँपालिकामा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणका लागि गणक परिचालन
कपन अनलाइन
सिन्धुपाल्चोक ,फागुन १६/सुशील सुवेदी
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको तथ्यांक संकलन गर्ने ७ जना गणक तथा १ जना सुपरिवेक्षकलाई तथ्याङ्क संकलन गर्नका लागि आवश्यक पर्ने ट्याव वितरण गरेका छन। अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्त भित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेसँगै स्थानियतहहरुले सुपरिवेक्षक तथा गणकहरुको लागि तालिमको ब्यबस्था गर्न थालेका हुन्।
गणकहरुले गाउँपालिका भरिका गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण गर्नका लागि तथ्याङ्क संकलन गर्ने कार्य गर्ने गाउँपालिकाका सुचना अधिकारी मनोज दंगालले जानकारी दिएका छन ।
ट्याव वितरण गर्दै गाउँपालिकाका अध्यक्ष तामाङले गरिब घरपरिवार परिचय पत्रले लक्षित एवं विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षा लगायतमा विशेष सहयोग पग्ने बताएका थिए ।
सो कार्यक्रमले गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण व्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगायतका कार्यक्रमहरुको प्रभावकारिता अभिवृद्धि हुने गाउँपालिकाकाको विश्वास रहेको तामांगले बताएका थिए।
त्यस्तै मेलम्ची नगरपालिका, इन्द्रावति गाउँपालिका , पाँचपोखरी थाङ्पाल गाउँपालिका र हेलम्बु गाउँपालिकाका गणक तथा सुपरिवेक्षकलाई जिल्ला समन्वय समितिको आयोजनामा तालिम सुरु गरिने सुचना अधिकारी दंगालले जानकारी दिए ।
(सुशील सुवेदी सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )