यस वर्षको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार होमनाथ दाहाललाई प्रदान गरिने
कपन अनलाइन
काठमाडौं ,माघ २८।
यस वर्षको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका पूर्वमन्त्री होमनाथ दाहाललाई प्रदान गरिने भएको छ ।
अहिंसा, शान्ति, समुदायिक सद्भाव, सामाजिक न्याय र लोकतन्त्रिक योद्धा महेन्द्रनारायण निधिको स्मृति-सम्मानमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले स्थापना गरेको पुरस्कारको राशि एक लाख रुपैयाँ छ । प्रतिष्ठानले लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा विगत ६ दशकदेखि निरन्तर क्रियाशील रहेका दाहाललाई प्रदान गर्ने निर्णय गरेको हो ।
करिब पाँच दशकदेखि भाषा, साहित्य, संस्कृति तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नियमित साधनारत रहेको भन्दै डा. रामदयाल राकेशलाई पनि सोही सम्मान गर्ने निर्णय प्रतिष्ठानले गरेको छ । यसैगरी प्रतिष्ठानले स्थापना गरेको प्रेमसागरीदेवी निधि पुरस्कार २०७६ बाट नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर लागेका ज्ञानु प्रसाईलाई र ०७७ को सो पुरस्कार काशीदेवी झालाई प्रदान गर्ने निर्णय गरेको छ । दुवै पुरस्कारको राशि एक-एक लाख रुपैयाँ छ ।
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले परिस्कृतहरुलाई महेन्द्रनारायण निधिको एक सयौं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा आगामी फागुन १४ गते प्रदान गर्ने जनाएको छ ।