प्रथम चक्र लामा/किसन लामा राष्ट्रव्यापी खुला स्नुकरमा प्रवीन र सञ्जय सफल
कपन अनलाइन
काठमाडौं ,माघ २६
प्रवीण लामा र सञ्जय वज्राचार्य प्रथम चक्र लामा/किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा आइतबार विजयी भएका छन् ।
प्रवीणले सुजन मगरलाई ३–२ तथा सञ्जयले सन्देश रुम्बालाई ३–१ को फ्रेमा पराजित गरे । वाङछु तामाङले अनिल गिरीलाई ३–० तथा सुरेश लामाले छेङगा लामालाई ३–० ले हराए ।
प्रतियोगिता पुरस्कार राशी र खेलाडी सहभागिताका आधारमा नेपाली स्नुकरको इतिहासमा यो अहिलेसम्मकै सर्वाधिक हो । १४७ ब्रेककर्तालाई १० लाख नगद प्रदान गरिने छ । उपाधि विजेताले २ लाख ११ हजार ५ सय, उपविजेताले ९१ हजार ५ सय तथा तेश्रो हुने दुई खेलाडीले ३० हजार ५ सय नगद पुरस्कार पाउने छन् । ४ क्वाटरफाइनलिस्टले समान १० हजार ५ सयका दरले नगद पुरस्कार जित्ने छन् । ८० अंक ब्रेककर्तालाई २१ हजार ५ सय तथा सेन्चुरी ब्रेककर्तालाई २ लाख १ हजार नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट र अनुशासित खेलाडीलाई समान ११ हजार ५ सय÷११ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा २ सय ५६ खेलाडी सहभागी छन् ।
स्नुकर खेलाडी राजन लामाको अग्रसरतामा यति ठूलो प्रतियोगिता सम्भव भएको नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष समेत रहेका चारपटकका स्नुकर राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीले जनाएका छन् । राजन स्व. चक्रका चेला पनि हुन् । प्रतियोगिताको गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसे, चक्र लामाकी धर्मपत्नी चन्द्रमाया लामा र किसन लामाकी पत्नी सकिला लामाले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।