गोकर्णेश्वरमा बालबालिकाहरुको गुनासो सुनुवाइ सम्बन्धी छलफल सम्पन्न

गोकर्णेश्वरमा बालबालिकाहरुको गुनासो सुनुवाइ सम्बन्धी छलफल सम्पन्न

कपन अनलाइन

काठमाडौं ,माघ २२।
बालविकास समाज र विश्वशिक्षाको साझेदारी तथागोकर्णेश्वर नगरपालिकाको समन्वयमा स्थानीयस्तर र वडास्तरमा गठन हुने बालअधिकार समितिको औचित्यकाबारेमा छलफल सम्पन्न भएको छ ।

बालबालिका सम्बन्धी ऐन २०७५को दफा ६० को उपदफा २ अनुसार “प्रत्येक स्थानीय तहमा गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको उपाध्यक्ष वा उप–प्रमुखले तोकेको त्यस्तो कार्यपालिका वा नगरपालिकाको सदस्यको अध्यक्षतामा स्थानीय बालअधिकार समिति रहनेछ”भन्ने व्यवस्था भएबमोजिम उक्त छलफल गरिएको हो ।

सो ऐनले बालबालिकाहरुको अधिकार सुनिश्चितताका लागि हरेक नगर तथा गाउँपालिकामा स्थानीयस्तरको बालअधिकार समिति र प्रत्येक वडा कार्यालयमा वडास्तरको बाल अधिकार समिति रहने त्यसैगरी प्रदेशमा प्रदेशस्तरको बाल अधिकार समिति र संघमा राष्टिय बाल अधिकार परिषद रहने परिकल्पना गरेको छ । ऐनको परिकल्पनालाई कार्यान्वयन गर्ने हिसावबाट कतिपय स्थानीय निकायहरुले बालअधिकार गठनको गरी सोही अनसार बालबालिकाहरुका मद्धा सम्बोधन गर्न थालेका छन भने केही स्थानीय निकायहरुमा यो कार्यको सुरुवात नै भएको छैन । यसैगरी गोकर्णेश्वर नगरपालिकामा पनि नगर तथा वडा स्तरको बालअधिकार गठन प्रक्रिया गठनसम्बन्धी कार्यविधि लगायतका विषयमा सरोकारवालाहरुसँग छलफल गरिएको हो ।

९ वटै वडाबाट छलफलमा प्रतिनिधित्व गर्न भनिए तापनि केही वडाका वडा अध्यक्षहरुको सहभागिता देखिएन । छलफलमा सहभागी भएका वडा अध्यक्षहरुले बालअधिकार समिति महत्वपूर्ण संयन्त्र भएको र यस नगरलाई बालश्रम मुक्त नगर बनाउनका लागि पनि यो संयन्त्रको महत्व हुने बताउनुका साथै सहयोगी भूमिका रहने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

नगरका प्रमुख प्रशासकीय अधिकृतले बालबालिकाहरुको समग्र हितमा काम गर्न नगरपालिकाभित्रका निकायहरु सधै तत्पर रहेको र बालअधिकार समिति कार्यविधीका लागि पनि छिट्टै प्रक्रिया गरेर अधिकार समिति गठनका लागि काम अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै बाल विकास समाजका अध्यक्ष सुवास गौतमले बाल विकास समाजले सधै बालबालिकाहरुको समृद्धिका लागि काम गर्ने भएको हुँदा स्थानीय सरकारलाई सहयोगी हुनेगरी नै संस्थाले कार्यक्रम सञ्चालन गरिरहेको कुरा बताएका थिए । यस छलफलबाट गोकर्णेश्वर नगरपालिकामा स्थानीय स्तरको बालअधिकार गठनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।