पर्यटन प्रबर्द्धनको लागि शंखरापुरमा पदयात्रा (Hiking) सम्पन्न

पर्यटन प्रबर्द्धनको लागि शंखरापुरमा पदयात्रा  (Hiking) सम्पन्न

कपन अनलाइन

काठमाडौं माघ २०। पर्यटन र कृषि लाई समृद्ध शंखरापुरको प्रमुख आधार  भन्ने मुल नाराको साथमा  शंखरापुर नगरपालिकाले पर्यटन प्रबर्द्धन गर्न लायन्स क्लब अफ साँखु संग को समन्वयमा  आयोजित  हाइकिङ कार्यक्रम सम्पन्न भएको छ ।शंखरापुर नगरपालिकाको वडा नं. ५ मा पर्ने कात्तिके बाट  शुरु भएको उक्त हाइकिङ कात्तिके टावर, पछिल्लो समय ढोक्सानको सिस महल भनेर चिनिएको शिलादेबी आधारभुत बिद्यालय, हिले चौर, जर्सिङ पौवा, सागा चोक, चौकी भञ्ज्याङ् हुँदै झुले पुगेर सम्पन्न भएको थियो। हाइकिङमा सहभागीहरुलाइ झुलेमा स्थानीय समुदायले स्वागत गरेका थिए ।

हाइकिङ कार्यक्रमको शुभारम्भ गर्दै शंखरापुर नगरपालिकाका प्रमुख  सुबर्ण श्रेष्ठले धार्मिक पर्यटन र  पर्यटनको बिकासमा नगरपालिकाले जोड दिएको बताउदै पर्यटन प्रबर्द्धन गर्न हाइकिङ कार्यक्रम महत्वपूर्ण हुने बताएका थिए । हिमाल, पहाड र तराइको मौसमको झल्को शंखरापुर नगरपालिका भित्र पाइने बताउदै यहाँको प्राकृतिक सुन्दरताको फाइदा लिन उनले सबैमा आग्रह गरेका थिए ।

हाइकिङको लागि उपयुक्त हुने गरि पद मार्ग समेत निर्माण गरेको बताउदै सडक पुर्बाधार लगायतका  बिकासका काम  समेत धमाधम  भैरहेको बताएका उनले  पर्यटन बिकासको लागि जर्सिङ पौवामा राजनेता उद्यान पार्क र ताल निर्माणको काम अघि बढाउने काम भैरहेको तथा नाङ्लेमा भृकुटी पार्क घुमारीचोकमा शान्ति पार्कको डिपिआर तयार गरि काम अघि बढेको जानकारी गराएका थिए । सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ साँँखुले नगरको पर्यटन बिकासमा समेत योगदान गरि रहेको बताउदै प्रमुख  श्रेष्ठले नगरपालिकाले पनि लायन्स संग सहकार्य गरि अघि बढेको जानकारी गराएका थिए ।

शंखरापुर लाई पर्यटन हबको रुपमा चिनाउन बिगत धेरै बर्ष अघि देखि नियमित रुपमा हाइकिङ कार्यक्रम आयोजना गरिरहेकोमा गत बर्ष देखि यस कार्यमा नगरपालिका पनि जोडिएको लायन्स क्लब अफ साँखुकी अध्यक्ष रोजि श्रेष्ठले बताइन।काठमाडौं र काठमाडौं बाहिरका समेत मानिसहरु ल्याइ शंखरापुरको पर्यटनको प्रचारमा लायन्स क्लब आफ्नो हिसाबले लागि रहेको उनले बताएकी थिइन ।शंखरापुरको पर्यटनको बिकास तथा प्रचार प्रसारमा हाइकिङ कार्यक्रम उपलब्धिमुलक भएको शंखरापुर नगरपालिकाकी पर्यटन बिभागको जिम्मेवारी सम्हालेकी   सुचना अधिकारी सुभद्रा पुडासैनीले बताइन।आफ्नो ठाउँको बिकासमा केही योगदान गर्न सकिन्छ कि भनेर हाइकिङ कार्यक्रम आयोजना गरेको कार्यक्रमका संयोजक एबम लायन्स क्लव अफ साँखुका पुर्ब अध्यक्ष राजकुमार श्रेष्ठले बताएका थिए  ।

तपाइँको प्रतिक्रिया ।