प्रचण्ड-माधव समूहद्वारा निर्वाचन आयोगमा नेकपाको आधिकारिकता दाबी
कपन अनलाइन
काठमाडौं, माघ २० ।नेकपा प्रचण्ड–माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा पेश गरेको छ ।अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दाबी पेश गरेका हुन् ।राजनीतिक दलसम्बन्धी ऐनमा टेकेर नै आफूहरूले पार्टी आधिकारिकता दाबी गरेको समूहले बताएको छ। उक्त ऐनको दफा ४४ अनुसार बहुमत केन्द्रीय सदस्यहरू आफूसँगै रहेको अवस्थामा पार्टी आधिकारिकता पाउनुपर्ने स्पष्ट रहेको जनाइएको छ।
सोमबारको केन्द्रीय समितिको बैठकबाट प्रचण्ड-माधव समूहले बहुमतका आधारले आधिकारिकता आफ्नै गुटले पाउनुपर्ने निष्कर्ष निकालेको हो।प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो भने ओली समूहले केन्द्रीय कमिटी विस्तार गर्दै त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्रचार गर्यो । तर आयोगले ११ माघमा दुवै पक्षको दाबी मानेन त्यही कारण राजनीतिक दलसम्बन्धी ऐनअनुसार आधिकारिता दाबी गरेको प्रचण्ड–माधव समूहका नेताहरुले बताएका छन् ।