ज्यामीबाट कृषक बनिन् पिर्था
कपन अनलाइन
काठमाडौं ,माघ १० /रमा बिश्वकर्मा
गएको सोमबार दिउँसो पिर्था राई कीर्तिपुर, मच्छेगाउँस्थित बारीको काममा व्यस्त थिइन् । उनको बारीमा अहिले रायो साग, लसुन, धनियाँ लगाइरहेका छन् । रायो साग टिप्दै गरेकी उनी भन्छिन्, ‘यी तरकारी बेच्न तल नयाँ बजार जानुपर्छ, कहिले लगेको जति सबै बिक्री हुन्छ, कहिले फिर्ता पनि ल्याउनुपर्छ । पिर्थाले यहाँ एक वर्ष अघिदेखि १५ रोपनी जग्गा भाडामा लिएर तरकारी खेतीसँगै कुखुरापालन गर्दै आएकी छन् । उनले यो व्यवसाय आफैंले ज्यालादारी ( ज्यामी ) काम गरेर कमाएको पैसाले सुरु गरेकी हुन् ।
एक वर्ष अघिसम्म उनी घर-भवन निर्माण क्षेत्रमा ज्यालादारीको काम गर्थिन् । उनका श्रीमान् भर्खरै विदेशबाट फर्किएका छन्, तर तरकारी खेती गर्न पिर्थाले श्रीमान् को कमाइ खर्च गरिनन् । उनी तरकारीमा रासायनिक मल होइन, आफैंले बनाएको प्रांगारिक मल प्रयोग गर्छिन् । प्रांगारिक मल तयार गर्न उनी जंगलबाट सुकेको पात ल्याएर कुखुराको सुलीसँग मिसाएर खाल्डोमा गाड्छिन्, त्यो कुहिएर मल बन्छ । यसरी तयार भएको मलमा उनले एग्रोभेटबाट पोपोकिट ( नरिवलको जट्टाबाट बनेको ) निदाउँछन्, त्यसपछि मात्र प्रयोग गर्ने मल तयार हुन्छ । ‘यस्तो मलको प्रयोगले बिरुवा सप्रन्छ, आम्दानी राम्रो हुन्छ,’ उनी भन्छिन् । बालीका लागि मल तयार हुने र आम्दानी पनि बढ्ने भएकाले उनले कुखुरा पालेकी हुन् सुरुमा उनले एक सय ५० गिरिराज चल्ला पालेकी थिइन् ।
अहिले भने एक सय लोकल चल्ला हालेकी छिन् । यो पालि सय वटै चल्ला हुर्केको उनले बताइन् । ‘ब्रोइलर गिरिराज राख्दा हुर्काउन सकस हुने, बिक्री पनि नहुने। लोकलको मासु मिठो हुने भएकाले बिक्ने आशा गरेकी छु,’ उनी भन्छिन् । उनले प्रतिरोपनी जग्गा भाडा वार्षिक १० हजार तिर्नुपर्छ । यस हिसाबले उनले एक लाख ५० हजार रुपैयाँ त भाडा मात्रै बुझाउनुपर्छ ।
भाडा लगायत खर्च कटाएर वार्षिक ४-५ लाख कमाइ भएको उनको भनाइ छ । उनी भन्छिन्, ‘कमाइ त त्यस्तै हो, लाउन-खान र दुई छोरीलाई पढाउन पुगेको छ ।’ उनको जेठी छोरी रारा हिल स्कुलबाट एस्ईई सकेर अहिले कीर्तिपुरस्थित एपिएफमा ११ कक्षामा पढ्दै छिन् भने कान्छी छोरी रारा हिलमै कक्षा ६ मा अध्ययनरत छिन् ।
उनले आफूले पढ्न नपाउँदा धेरै दुःख झेल्नुपरेको र पढेपछि राम्रो काम पाउलान् भनेर छोरीहरुलाई पढाएको बताइन् । अहिले उनका दम्पती नै तरकारी खेती र कुखुरापालनमा लागेका छन् । पिर्थाले आफू तरकारी खेतीमा लाग्नुको श्रेय कृषिविद् मदन राई र युट्युबलाई दिन्छिन्। उनी भन्छिन्, ‘कृषि विशेषज्ञ मदन राईलाई युट्युबमा हेरिरहन्छु ।
त्यस्तै, ‘कुखुरापालनका लागि युट्युबमै सर्च गरेर भिडियोहरु हेर्ने गर्छु र त्यहाँबाट विभिन्न आइडिया लिन्छु ।’ मदन राईबाट मानिसको पिसाब पनि राम्रो मल बन्ने थाहा पाएकी उनले पछि आफ्नो परिवारको पिसाब संकलन गर्न थालिन् । उनी भन्छिन्, ‘दुई भाग पानी र एक भाग पिसाब राखेर बिरुवाको जरामा नपर्ने गरेर त्यसको वरिपरि माटोको भागमा राख्दा बिरुवा राम्रो हुन्छ ।’ खोटाङको बोपुङमा जन्मिएकी पिर्था स्कुले उमेरमा पनि कृषि कार्यमै बढी संलग्न भइन् ।
त्यो परिवेश नै त्यस्तै थियो । स्कुल जान पाए पनि आमालाई सघाउन उनी धेरैजसो घरमै बस्थिन् । यसरी उनको पढाइ बिस्तारै छुट्यो भने मेलापातको काममा बढी खटिनुपर्यो । ०५८ सालमा बिहे गरेपछि उनी श्रीमान् सँग काठमाडौं आएकी हुन्, कुनै कामको खोजीमा । ज्याला मजदुरी गर्ने उनका श्रीमान् ०६८ सालमा दुबई गए । त्यसपछि पिर्था यता ज्याला मजदुरी छाडेर तरकारी खेतीमा लागेकी हुन् । उनी भन्छिन्, ‘खेतीपाती त हाम्रो रगतमै छ । यो गर्न के गार्हो भयो र?’