सानै कक्षाबाट पठन पाठन संस्कृति सुरु गर्न विज्ञहरुको सुझाव

सानै कक्षाबाट पठन पाठन संस्कृति सुरु गर्न विज्ञहरुको सुझाव

काठमाडौं, पुष २८

नेपालमा पठन पाठन संस्कृतिको अभाव भइरहेको बखत गोकर्णेश्वर नगरपालिकाका समाजसेवीहरुले उदाहरणीय कार्य गरेका छन् । समाजसेवीहरु दीपकुमार भण्डारी, डाक्टर लक्ष्मण आचार्य र धनप्रसाद लामिछानको पहलमा नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयलाई पुस्तकहरु हस्तान्तरण गरियो ।

समाजसेवीत्रयले एक स्वरमा सानै कक्षाबाट पठन पठान संस्कृति शुरु गरिए मात्र त्यसको दीर्घकालीन प्रभाव पर्ने धारणा राखे । करीब ६ लाखको लागतमा कक्षा तीन सम्मका विद्यार्थीहरुका लागि कक्षा कोठामा नै राख्ने गरी जीवनोपयोगी पुस्तकहरु उपलब्ध गराइएको समाजसेवी भण्डारीले बताए । विज्ञहरुबाट छानिएका पुस्तकहरुको अध्ययनसँगै स–साना विद्यार्थीहरुको जीवनमा सकारात्मक परिवर्तन आउनेमा आफू आशावादी रहेको भण्डारीको भनाइ थियो ।

शिक्षाविद् समेत रहेका डाक्टर आचार्यले विद्यार्थीहरुमा पठन पाठन संस्कृति बढाउनका लागि शिक्षक शिक्षिकाहरुको इमान्दार प्रयास उत्तिकै जरुरी रहेको धारणा राखे । विद्यार्थीहरुलाई उनीहरुको स्तर अनुसारको पुस्तक पढ्न दिनुपर्नेमा अहिले सम्म त्यसो हुन नसकेको आचार्यको दाबी थियो । अर्का समाजसेवी लामिछानेले शैक्षिक स्तरको अभिवृद्धि विना समृद्ध समाजको परिकल्पना गर्नै नसकिने बताए ।

राजधानीमा मंगलवार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोेष चालिसे, उपप्रमुख शान्ति नेपाल, शिक्षा शाखा प्रमुख विजयप्रसाद आचार्य लगायतले विद्यार्थीहरुमा पठन संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए  ।

सामुदायीक विद्यालयहरुबाट शुरु गरिएको यस्तो अभियान फलदायी हुनेमा आफूहरु आशावादी रहेको उनीहरुले बताए । सहयोगी मन सामुदायीक अध्ययन केन्द्रको संयोजकत्वमा भएको कार्यक्रम गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको हो ।

तपाइँको प्रतिक्रिया ।