काठमाडौं महानगरपालिका वडा नं ३१ को कार्यालय भवन शिलान्यास

कपन अनलाइन

काठमाडौं ,पुस १५।

काठमाडौं महानगरका प्रमुख  विद्यासुन्दर शाक्य, उप प्रमुख  हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नारायण भण्डारीले संयुक्त रुपमा वडा ३१ कार्यालयको शिलान्यास गरेका छन  । आज तीनकुने पुल मुखैमा रहेको १ रोपनी ८ आना क्षेत्रफल भएको जग्गामा भवन निर्माणका लागि शिलान्यास गरिएको हो । २०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय भवन र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले, वडा भवन एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको बताउँदै भवन निर्माण भइसकेपछि सेवा चुस्त र छिटो हुने अपेक्षा गर्नुभयो । ‘हामीले हाम्रो जिम्मेवारी पूरा गरेका छौँ । जसका पालामा भवन निर्माण भयो त्यो भवन उसैको निजी भएको जस्तो गरेर कहिलेकाहीँ धारणा व्यक्त हुने गरेका छन् । यो भ्रम हो । जुनसुकै वडा कार्यालय निर्माण भए पनि जनप्रतिनिधिले हाम्रा पालामा काम सम्पन्न गर्न पायौँ भनेर आत्मसन्तुष्टि मात्रै लिने हो । यो सम्पत्ति स्थानीयको हो । स्थानीय सेवाका लागि हो ।’

कुरा नबुझेर कहिलेकाहीँ राम्रो कामको पनि विरोध हुन्छ । अवरोध गर्न पाइयो वा व्यवधान खडा गर्न सकियो भने आफूलाई अघि बढ्न सजिलो हुन्छ भन्ने प्रवृत्ति पाइन्छ । योे गलत हो । मेयर शाक्यले थप्दै भन्नुभयो — ‘निर्वाचनका बेला उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुन्छन् । त्यसको हार वा जीतपछि सबै मिलेर काम गर्नुपर्छ । स्थानीय तह विचारको लडाईँ गर्ने थलो होइन । विचारको लडाई गर्ने हो थलो संसद हो । स्थानीय तहमा पक्ष र प्रतिपक्ष हुँदैन । हामीले मिलेर सर्वसम्मतिका साथ निर्णय गरेको छौं । त्यहीअनुसार योजना कार्यान्वयन गर्दैछौं । तपाईहरुले पनि टोलमा पनि मतभेद नराख्नुहोला ।’

शिलान्यास कार्यक्रममा बोल्दै डेपुटी मेयर हरिप्रभा खड्गी श्रेष्ठले, सेवा व्यवस्थापनमा जिम्मेवार बोध गरेर वडा भवन निर्माण भइरहेको बताउनुभयो । ‘लामोसमय जनप्रतिनिधिबिहिन साविक स्थानीय निकायले नयाँ भवन निर्माण गर्न सक्ने अवस्था थिएन । पुराना भवनमा सेवा व्यवस्थापन गर्न सजिलो पनि थिएन । त्यसैकारण हामीले निर्वाचित भएपछि कार्यालय भवन बनाउने निर्णय गरेका थियौं ।’ डेपुटी मेयर खड्गी श्रेष्ठको भनाइ थियो ।

समारोहमा प्रदेश सभा सदस्य गणेश दुलाल, वडाध्यक्ष नारायणप्रसाद भण्डारी, काँग्रेस महासमिति सदस्य सुरजचन्द्र लामिछानेले, पायक पर्ने ठाउँमा वडा कार्यालय निर्माण हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो । निर्माण थालनी हुनु जति महत्वपूर्ण छ । समयमा निर्माण सम्पन्न हुन उत्तिकै जरुरी छ । उहाँहरुको एउटै धारणा थियो ।

एक रोपनी ८ आना क्षेत्रफल जमिनमा निर्माण हुने वडा भवनको इष्टिमेट रकम ६ करोड ७५ लाख ६२ हजार १ सय ६२ रुपैयाँ थियो । खुल्ला प्रतिस्पर्धामा निर्माण व्यवसायी प्राकृतिक — पवन जेभीले भ्याटसहित ४ करोड ६७ लाख ४८ हजार ४५ रुपैयाँमा निर्माण कवोल गरेको छ । भवन ५ तलाको हुनेछ । इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार २ हजार ४६५ दशमलव ७३ बर्गफुट जमिनमा भवन निर्माण हुनेछ । भवनको जम्मा क्षेत्रफल १० हजार २१२ दशमलव १० वर्गफुट हुनेछ । भवनमा ६ जना क्षमताको लिफ्ट जडान हुनेछ । जमिन तलामा पार्किङ्का लागि पूर्वाधार तयार पारिनेछ । भवन पहुँचयुक्त हुनेछ । भवनको बाहिरपट्टि बगैचा हुनेछ ।

महानगरले वडा – ९ र १८ का नवनिर्मित भवनको औपचारिक रुपमा उद्घाटन गरिसकेको छ । वडा – ३ को भबन ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । वडा – ४ को भवन पुष मसान्तभित्र सम्पन्न हुनेछ । वडा – १४ को गृह प्रवेश भैसकेको छ । वडा – २६ ले नयाँ भबनबाट सेवा सुरु गरिसकेको छ । इन्जिनियर श्रेष्ठकाअनुसार वडा – ६ को १ तला र वडा २२ को २ तला ढलान कार्य सम्पन्न भएको छ । वडा – १२, २१ र २९ को बोलपत्र आव्हानको प्रक्रिया चलिरहेको छ । वडा – १६ टेन्डर प्रक्रिया पुग्न लागेको छ । अन्य वडा भवनको स्तरोन्नति गर्नेलगायतका काम भइरहेका छन् ।

वडा ३१, एक वडा — एक प्रदेश सभाका निर्वाचन क्षेत्र भएको वडा हो ।

तपाइँको प्रतिक्रिया ।