आमाको दुःखेसो : त्रिलोचनआचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,मंसिर २९।
झरेको खोलाझैँ खुरुखुरु बगेको वयसँगै
अँगालोमा बेर्दै लुटुपुटु पसेको भयसँगै
अहारा के खाने ? घर सब छ रित्तो घर पनि
सहारा को बन्ने ? जिउनु छ मुढो भै तर पनि ।
सबै छोरा छोरी पर पर भए, भार म भएँ
नबल्ने लत्रेको फगत बिजुली तार म भएँ
थिए प्यारा, रोज्यो, जब नियतिले, चुँड्न पहिले
भएँएक्ली छैनन् सकल दुःख यो, देख्न अहिले ।
तिमी खाऊ बाबा हर दिन भनेका लबजले
भनी फाट्यो नाना दिनदिन खपेका सकसले
सधैँ अर्पेको त्यो रगत पसिनाको दहनले
कतै सोधीहाले अनि म भनुँ के भन्छ मनले ।
भनेथ्यो छोराले, घर कि अब वृद्धाश्रम लगौँ ?
भएथ्यो छातीमा, तब तब नदीमा अब पसौँ
उताआस्थाबोल्यो, नगर अति दुर्नाम उसकै
समस्याले हाँस्दै मसमस कस्यो दुख्दछ निकै ।
अहो ! हुर्काएछौँ फगत जगमा बैगुनहरू
कहाँ छन् खै चिल्लो हरपल घसेका मनहरू
भुली यो हैरानी, सकलअपमानी, अकर पो
अहो ! छोरीलाई, म भनुँ कसरी ? सृष्टि भर यो ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक