गाम्चा-कौडोल-जगडोल सडक निर्माणमा समस्या
कपन अनलाइन
काठमाडौं ,मंसिर २८।
गाम्चा -कौडोल – जगडोल सडक निर्माणमा समस्या देखिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं २ को गणेश चोक देखि वडा नं ११ जगडोल जोड्ने सडक निर्माणमा क्रममा विभिन्न स्थानमा समस्या देखिएको छ।
निर्माण शुरु हुने क्रममा नै ११ मिटर कि ८ मिटर भन्ने विवाद सृजना भएर लामो समय सम्म रोकिएको सो सडक बल्ल बल्ल निर्माण शुरु भए पनि अहिले गाम्चा -कौडोल – जगडोल सडक खण्डका विभिन्न स्थानमा सडकको चौडाई र विस्तारका क्रममा भत्किएको स्थानियहरुको संरचना व्यवस्थापनका विषयमा समस्या सृजना भएको एक स्थानीयले बताएका छन।
त्यस्तै उक्त सडकको कौडोल खण्डमा सो सडक निर्माणको नक्शा र रेखांकनका विषयमा उक्त स्थानका जग्गा धनीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाउजुरी परे संगै सडक निर्माण अन्यौलमा परेको छ।
सो क्षेत्रमा सडक निर्माणका लागि तय गरिएको सिमाना र रेखांकन फरक भएको भन्दै जग्गा धनीले उजुरी दिएका छन भने वडा कार्यालय प्राविधिक स्टिमेट भए अनुसार नै सडक निर्माण हुने बताउदै आएको छ।
पहिलो गाँस मै ढुंगा भने झैँ निर्माणको शुरुवातमै चौडाईको विवाद सृजना भएको सो सडक ९ मिटर हुने गरि सहमति गरेर निर्माण शुरु गरिएता पनि अहिले पनि कतिपय स्थानमा सो मापदण्ड लागु नभएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन।