आणविक अस्त्र उन्मुलनको माग गर्दै मानव अधिकार तथा शान्ति समाजको शान्तिपूर्ण धर्ना
कपन अनलाइन
काठमाडौँ,मंगसिर २६। मानव अधिकार तथा शान्ति समाजले बिहिबार आणविक अस्त्र उन्मुलनको लागि नौ वटा दुतावास अगाडि धर्ना दिएको छ। समाजले ७२औं अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमाआणविक हतियार निषेध सन्धिलाई छिटो अनुमोदन गर्न र आणविक अस्त्ररहित विश्वको लागि आग्रह गर्दै अमेरिका, रुस,चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्थान, उत्तर कोरिया र इजरायल दुतावास अगाडी धर्ना दिएका हुन्।
काठमाडौँमा रहेको पाकिस्थान दूतावासअगाडि धर्नामा बसेका मानव अधिकार तथा शान्ति समाजका सचिव ईश्वर पुडासैनीले भने, ‘१० डिसेम्बर १९४८ मा संयुक्त राष्टसघंले मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको थियो र त्यो घोषणापत्रले मानव जीवनको अस्तित्वको स्वीकार गर्नु पर्छ र मानवले मानव भएर बाँच्नु पर्छ भन्ने विषयमा ३० वटा धाराहरूमा मानव अधिकारको व्याख्या गरेको थियो । उक्त दिनदेखि हरेक वर्ष १० डिसेम्बरलाई मानव अधिकार दिवसका रूपमा मनाइँदै आइएको छ।’
उनी भन्छन्, ‘अहिले हामी विश्व नै कोरोना कहरमा रुमल्लिएको अवस्थाबाट गुज्रिरहँदा मानव सभ्यता नै करिब करिब संकटमा परेको परिस्थिति छ। यस परिस्थितिलाई जितेर अगाडि बढ्ने विश्वास लिइरहँदा केही शक्ति सम्पन्न देशहरूले भने हतियारको भण्डारण गरेको पाइन्छ। जसले चाहने हो भने एउटा बटम थिच्दा करोडौं मानिसहरू एकै चिहान हुन सक्छन्। सिङ्गो मानव सभ्यता नै ध्वस्त हुनसक्छ। त्यसैले, हामीहरुले आज १० डिसेम्बर मानव अधिकार दिवसको दिन पारेर ती शक्तिशाली मुलुकहरूका प्रमुखहरूलाई सन् २०१७ को जुलाई ७ मा राष्ट्रसंघमा आयोजित सम्मेलन द्वारा आणविक हतियार निषेध सन्धि गरेको प्रसंगलाई पुनर्स्मरण गराउन चाहेका हौँ। उक्त सन्धिमा हस्ताक्षर गर भन्दै ती राष्ट्र प्रमुखहरूलाई यस धर्नामार्फत आग्रह गर्दछौँ।’
त्यस्तै, अमेरिकन दूतावासअगाडि धर्नामा बसेका मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले अनुसार सन् १९९६ मा शान्ति समाज खुलेदेखि आणविक अस्त्र पूर्ण उन्मुलनको माग गर्दै आधा दर्जन आन्दोलन गरिसकेको बताएका छन्। विगत २५ वर्षदेखि आफूहरू आणविक अस्त्ररहित विश्वको कामना गर्दै आग्रहसहितको शान्तिपूर्ण आन्दोलनमा अभियानरत छौँ। पहाडीका अनुसार सन् २०१७ मा आएर राष्ट्रसघंले एउटा सन्धि जारी गर्यो जसले मानव अधिकार तथा शान्ति समाजको भावनाको प्रतिनिध्व गरेको छ। उक्त सन्धि पूर्ण रुपमा आणविक अस्त्र अन्त्य गर्नका लागि लक्षित रहेको बताउँदै त्यसलाई शक्ति सम्पन्न देशहरू कसैले पनि अनुमोदन नगरेकोमा दुःख व्यक्त गरेका छन्। त्यसलाई अनुमोदन तत्काल गर्नुपर्छ भनेर यो धर्ना गरेको पहाडी बताउँछन्। मानव रक्षाका लागि गरिएको यो शान्तिपूर्ण धर्ना आज देशभरिका ४२ ठाउँमा प्रदर्शन गरिँदै छ। उनले यस सन्धिमा नेपालले हस्ताक्षर गरे पनि अनुमोदन भने नगरेको बताउँदै अनुमोदन पनि तत्काल गर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै, चीन दूतावास अघि धर्नामा बसेका मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले भने, “आणविक हतियार सञ्चय गर्दा पक्कै त्यसले कुनै न कुनै दुर्घटना निम्याउँछ। त्यसैले मानव सभ्यताको जगेर्नाको लागि जिम्मेवारी बोध गरी सबै राष्ट्रहरूले भविष्यमा दुर्घटना निम्त्याउन सक्ने त्यस्ता हतियारहरू उन्मुलन गर्नैपर्छ। विश्व मानव हित र शान्तिको बाटोमा हिँड्नपर्छ।”
विश्वलाई मानव हित र शान्तिको पथमा मार्गदर्शन गर्न आणविक हतियार उन्मुलन हुनैपर्छ भन्ने मान्यताका साथ मानव अधिकार तथा शान्ति समाजले ७२औं अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा नौ राष्ट्रका दूतावास अगाडि धर्ना सहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
फोटो: सरोज बस्नेत