स्वयम्भू महाचैत्यको पादमूल भुइँखेलमा रहेको आनन्द भुवन विहारको शिलान्यास
कपन अनलाइन
काठमाडौं ,मंसिर २५।
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आनन्द भूवन विहारको शिलान्यास गरेका छन । स्वयम्भू महाचैत्यको पादमूल भुइँखेलमा रहेको उक्त विहारलाई २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको थियो । यसको पुननिर्माणका लागि बौद्ध परम्पराअनुसार शिलान्यास गरिएको हो ।
शिलान्यास पछि बोल्दै प्रमुख शाक्यले, मूर्त अमूर्त सम्पदा बचाउने नीतिअनुरुप महानगरले काम गर्दै आएको बताएका छन । ‘अस्तुधातु रहेको रामग्रामसँग काठमाडौं महानगरको भगिनी सम्बन्ध स्थापना भएको छ । यसको आधार धार्मिक तथा सांस्कृतिक सम्बन्ध हो । यसैगरी लुम्बिनीमा नेपाली विहार निर्माण गर्न सहयोग गरेका छौं । यो हाम्रो अर्को प्रयास हो ।’ मेयर शाक्यले थप्दै भने ‘सम्पदासँग सम्बन्धित जुनसुकै योजनालाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गरिरहेका छौं । सांस्कृतिक पहिचानबाट पर्यटकीय प्रवर्धनका काम गर्छौ । यसबाट स्थानीयबासीको आयमा वृद्धि हुन्छ । सरकारलाई यस क्षेत्रबाट प्राप्त आयले सम्पदाको दिगो संरक्षणमा सघाउ पुग्छ ।’
त्यस क्रममा बोल्दै संघीय संसद सदस्य जीवनराम श्रेष्ठले काठमाडौंका अनुपम सांस्कृतिक पहिचानलाई जोगाउनु महानगरको प्रमुख जिम्मेवारी रहेको बताउनुभयो । श्रेष्ठले भने , ‘सांस्कृतिक क्षेत्रको बचावटविना काठमाडौको समग्र विकास सम्भव छैन । यसमा महानगर सचेत भएको पाएको छु ।’
विश्व सम्पदा क्षेत्रको काखमा रहेको विहारले थेरवादी वुद्ध शिक्षामार्फत सामाजिक सद्भाव र शान्तिका लागि ठूलो योगदान दिएको छ । कार्यक्रममा वडा १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने ‘भौतिक पूर्वाधार, सरसफाइ, सांस्कृतिक सम्पदाको जगेर्नालगायत काममा वडाले ८० करोड रुपैयाँ बढीका योजना सञ्चालन गरिसकेको छ । यो क्रम जारी छ । उता चमती जग्गा विकास आयोजनाका कामलाई नतिजामुखी बनाइएको छ ।’ उहाँकाअनुसार वडा १५ भित्र करीब १० वटा मुख्य गुम्बा र ५ वटा मुख्य विहार छन् । अन्य सानातिना गुम्बा र विहार धेरै छन् ।
कार्यक्रममा भिक्षु कौडन्य महास्थवीरले उपदेशात्मक मन्तव्य दिँदै, महानगरले वुद्ध शिक्षाको प्रवर्धनका लागि रामग्राम नगर र लुम्बिनी क्षेत्रसम्म विस्तार गरेको सहयोगको प्रशंशा गर्नुभयो ।
यो २०३७ सालमा निर्माण भएको विहार हो । विहारमा आवासीय भिक्षुहरुले बुद्ध शिक्षा लिइरहेका छन। विहारमा वुद्ध पूजा, ज्ञानमाला भजन, धर्मदेशना, शील प्रार्थाना, परित्राण पाठ, पुण्यानुमोदन जस्ता कार्यहरु सञ्चालन हुँर्दै आएका छन् ।
४ करोड २५ लाख रुपैयाँ लागत अनुमान रहेको विहार पुननिर्माणको पहिलो चरणमा करीब २ करोड रुपैयाँ बराबरको खर्चबाट पुननिर्माण कार्य हुनेछ । विहारका महासचिव वुद्धिमान शाक्यकाअनुसार २ करोडमध्ये ८५ प्रतिशत लागत महानगरबाट सहयोग प्राप्त हुनेछ भने १५ प्रतिशत उपभोक्ताकातर्फबाट राखिनेछ । अहिलेसम्म विहारमा आउने उपासक तथा शुभेच्छुकबाट ३४ लाख ८६ हजार रुपैयाँ प्राप्त भइसकेको छ ।