ज्योति राणाको अध्यक्षमा ११ सदस्यीय वुमेन्स कमिसन कमिटी गठन
कपन अनलाइन
काठमाडौं ,मंसिर २५।
नेपाल ओलम्पिक कमिटीअन्तर्गत वुमेन्स कमिसनमा बुधबार ज्योति राणाको अध्यक्षमा ११ सदस्यीय कमिटी गठन भएको छ । कमिसनको अध्यक्षमा राणाको यो दोस्रो कार्यकाल हो । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालयमा आयोजित कमिसन गठनको कार्यक्रममा अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको कामना गरेका थिए ।
कमिसनको अन्य सदस्यमा बिमला पौडेल, हेल्गा राणा रायमाझी, नन्दा बस्याल, प्रमिला सिंह श्रेष्ठ, प्रतिमा शाह, रेणुका सिटौला, सुधा शाक्य, सुनकेशरी माली, प्रेमा डोल्मा लामा श्रेष्ठ र गीता श्रेष्ठ रहेका छन् ।
कार्यक्रमका अवसरमा अध्यक्ष राणाले कमिसनले महिला खेलाडीको हित र स्वार्थका लागि आवाज उठाउने बताए । उनले महिला खेलाडीप्रति हुन सक्ने यौनदुर्व्यवहार बारे जनचेतना जगाउने काम पनि हुने बताए । यस्तै कमिसनले छाउ प्रथाबारे पनि चेतनामूलक कार्यक्रम गर्नेछ ।