कुदाउँछ यै मनले पर : त्रिलोचन आचार्य ( कविता )
कपन अनलाइन
काठमाडौं ,मंसिर १३।
गगनमा वनमा मन दौडिँदा
पवनका दहमा मन पौडिँदा
जतनले तनमा कसरी थुनुन्
खटन यो मनकै सबले बुझुन् ?
लसुनको सुनको कुन भाउ हो ?
विरहको रहको कुन ठाउँ हो ?
अकलमा कलमा मनका कुरा ?
किन गरौँ ? नगरौँ धनका कुरा ।
समयका लयमा लयको दिने ?
सफल खै सयमा सय को हुने ?
अबुझ यो तनले युग के पढोस् ?
शिखरमा बिचरा कसरी चढोस् ?
मन भए, लयमा सब सल्ल छ
वरिपरी नगरी झलमल्ल छ
सकल पत्थरमा रस खल्ल छ
मनविना तर त्यो असरल्ल छ ।
अगतिला गतिला कसरी भए ?
असजिला सजिला कसरी भए ?
विपतका पतका कसरी उडे ?
तन हुने रथ यो मनले चढे ।
सफल भै सरकार कुदे पनि
मनुजनै नभमाथि उडे पनि
बुझ कुदाउँछ यै मनले पर
अनि डुबाउँछ यै मनले घर ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।