एकादेशको सम्झनाः केहि गफसफ (अनुभूति )

 

कपन अनलाइन

काठमाडौं ,मंसीर ६/डा. रामेश्वरप्रसाद अधिकारी

गफैको कुरा त हो । यहाँका साथिरुसंग कुरा गर्दा मेरो बाल्यकालको सुत्ने कोठाको झ्यालबाट सगरमाथा छर्लंग देखिन्थ्यो भन्दाउनीहरु मेरो डाढ गर्छन, रोमाञ्चित हुन्छन । तर चिसो सिरेटो र तुषारोले आफ्नो दैनिकिनै ठिंगुर्याएको कुरा यिनीहरुलाई के पत्तो !
ढांडे पहाडको टुप्पोमा अवस्थित माङ्गसुवाको घर, आँगन, बारी, र नागीको सेरोफेरोमा मेरो बाल्यकाल बित्यो । झन्डै ४५ मिनेट पैदल हिंडेर, देउराली भंज्याङ्मा पाती चढाउँदै, बनमाबाँदर र ढेडुसंग लुकामारी खेल्दै, काफल र कट्टुस चपाउँदै, बतासेको डांडो स्थित कालिका प्राथमिक बिद्यालयबाट मेरो औपचारिक अध्ययन प्रारम्भ भएको थियो । त्यसपछि धरानको पब्लिक हाईस्कूलमा केहि समय छैंठौं कक्षामा अध्ययन गरेर म फेरि माङ्गसुवा नै फर्केको थिएँ ।
प्रसासनिक रुपमा तत्कालिन याकु गाउँ पंचायत अन्तर्गत परेपनि माङ्गसुवा चरम्बिको सिरानमै पर्छ । त्यसताका माध्यमिक बिद्यालय स्वीकृत गराउन याकु र चरम्बिको बिचमा प्रतिस्पर्धा चलिरहेको थियो । त्यसका लागि विद्यार्थीको संख्या महत्वपुर्ण भएकोले म भागबण्डामा परें (एक बर्ष चरम्बिमा पढ्ने र अर्को बर्ष याकुमा पढ्ने ।
फैसला मुताबिक सातौं कक्षाको अध्ययन गर्न म कुम्लो कुटुम्बो बोकेर चरम्बी झरें र अरुणोदय माध्यमिक बिद्यालयमा भर्ना भएँ । विद्यालयको आसपासबाट नै डाँडाको टुप्पामा हाम्रो घर देखिन्थ्यो । नियाश्रो लागेको बेलामा आफ्नो घर तिर हेर्दा मन अमिलो भएर आउँथ्यो । तर के गर्ने पढ्नै पर्ने, पढें ।
अब याकुमा बस्ताका केहि चटपटे गफ गरौँ । २०२४ सालतिरको कुरा हो । बाचा अनुसार अर्को साल आठौँ कक्षामा अध्ययन गर्न याकुको बिश्वप्रेमी माध्यमिक बिद्यालय भर्ना भएँ । त्यहीं नजिकै डेरा गरेर बस्थें । संगैको अर्को घरमा पिसकोरको एक जना अमेरिकन स्वयंसेवक बस्नुहुन्थ्यो । उहाँ हामीहरुलाई बिज्ञान पढाउनुहुन्थ्यो । एकपल्ट वहाँलाई रुघा खोकिले निकै च्याप्यो । एक दिन भरिको बाटो भोजपुर सदरमुकाममा मान्छे दौडाएर काठमाण्डुमा आकाशवाणी गर्न लगाईएछ । एक दुई दिनमा नै वहालाई लिन एउटा हेलिकप्टर आएर हाम्रो विद्यालयको चौरमा उत्रियो । सम्पूर्ण गाउँको लागि नै यो एउटा अभुतपूर्व दृश्य भएको थियो । हामीहरु पनि कक्षा छोडेर हस्याङ्गफस्यांग गर्दै चौर तिर दौडिएका थियौं त्यो अलौकिक दृश्यावलोकन लागि ।
हाम्रो स्वयंसेवक गुरु एक निष्ठावान साधु हुनुभएको छ रे, र आफ्नु नाम समेत फेरेर कुनै साधुजन्य नाम अङ्गीकार गर्नुभएको छ रे ।
अध्ययनको अतिरिक्त लात्ते भकुण्डो खेल्नु, रातभरी धानकुर्ने ठाउँको अस्थायी झुपडीमा साथीहरुसँग रमाइलो गरेर बिहान आँखा मिच्दै परिक्षा दिन बिद्यालय पुग्नु, जङ्गलमा ढुकुरको खोजीमा साथीहरुसँग भौंतारिनु, आदिपनि झन्डै झन्डै नियमित प्रकिया नै हुन्थे । पर्याप्त कागज र मसि भएको भएकति के के लेख्थें होला भन्ने अधुरो कल्पना पनिअझै ताजै छ ।
हिमालको चिसो बतासदेखि सुरु भएको जिन्दगि अहिलेको मरुभूमिको बाससम्म आईपुग्दा जुगौं बितिसके छ । संयुक्त राज्य अमेरिका पसेको पनि ३१ (३२ बर्ष भैसकेछ । तै पनि यदाकदा मन उडेर त्यहि माङ्गसुवा,बतासे, चरम्बी, र याकुको चिसो सिरेटोमा गाई चराउदै, घास काट्दै, डन्डीबियो र खोप्पी खेल्दै कुदिरहन्छ ।

(संयुक्त राज्य अमेरिकाको हार्वार्ड विश्वबिद्यालयबाट कानून संकायमा स्नातकोत्तर र एरिजोना राज्य विश्वबिद्यालयबाट विद्यावारिधिप्राप्त गरेका  डा. अधिकारी हाल एरिजोना राज्यमा कानूनी विश्लेषकका रुपमा  कार्यरत रहेका छन)

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।