विप्लव कार्यकर्ता हुँ भन्दै व्यवसायीलाई धम्क्याएर तीन करोड माग्ने चार जना पक्राउ
कपन अनलाइन
काठमाडौं ,कार्तिक २६
काठमाडौंका व्यवसायीहरूलाई विप्लव समूहको नाममा धम्क्याएर तीन करोड माग्ने चार जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोटका ३३ वर्षीय बिन्तोष सिलवाल (सुनार), रामेछापका ३१ वर्षीय रामदल श्रेष्ठ, काभ्रेका ५२ वर्षीय तिर्थमान तामाङ र चितवनका ४२ वर्षीय नन्दुराज आचार्य छन्। उनीहरूलाई महाशाखाको टोलीले सोमबार नै पक्राउ गरेको हो। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार उनीहरूले काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानका व्यवसायीहरूलाई फोन गरी धम्क्याउँने र आफूहरू नेकपा माओवादी, विप्लव समूहका पूर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हौं भनेर चिनाउने गरेका थिए ।
त्यसरी चिनाएपछि उनीहरूले तीन करोड चन्दा माग गर्ने गरेको र नदिएमा भौतिक कारबाहीको धम्की समेत दिने गरेको प्रहरी उपरीक्षक कार्कीले बताए। उनीहरूविरूद्ध आपराधिक लाभ लिन नहुने कसुरमा मुद्दा दर्ता गरिएको छ।