म पागल हुँ : सकुन ज्ञवाली (कविता )
कपन अनलाइन
काठमाडौं ,कार्तिक १।
म पागल हुँ
हो म पागल हुँ
मलाई पागलको प्रमाण–पत्र देउ
परिचयपत्र नै बनाई देउ
घाँटीमा भिरेर हिडने छु
मैले तिमीहरू जस्तो मौका हेरेर
कालोलाई सेतो र सेतोलाई कालो कहिले भनिन
सत्ताको कठपुतली कहिले बनिन
हो म पागलहुँ ।
दुर्गम गाउँका गरिब पागलहरूलाई उपचार गर्छु
तिनै गरिबलाई सिटामोल बाडेर मर्नबाट बचाउछु
हो म पागलहुँ ।
तिमीहरू हवाईजहाज चढेर
विदेशको सयरमा निस्कँदा
म थोत्रो झोलामा अलिकती औषधी बोकेर
गाउँघरको उकालो चढिरहेको हुन्छु
तिमीहरुले राजधानीको तारे होटेलमा
कुखुराका सपेटा लुछ्दै गर्दा
म बिकट गाउँमा गरिबको छोराको
पिलो निचोरीरहेको हुन्छु हो म पागलहुँ ।
कुनै राम्रो पद पाउनका लागी
तिम्रा कार्यकर्ताहरूलाई बिन्तीपत्र चढाउन
तिम्रा दरवारमा धाउदिन
तिमीहरूले निम्त्याएका रात्री भोजमा
दुई हात जोडेर आउदिन
हो म पागलहुँ ।
तिमीहरूको कालो कमाईलाई
सेतो बनाई दिने ताकत छैन मसँग
तिमीहरूलाई चन्दादिने नाममा
बोराकाबोरा रुपिया पठाइदिने सामर्थ्य छैन मसँग
तिमीहरुले गरेको भ्रस्टाचारमा
आखाँ चिम्लीदिने शक्ती छैन मसँग
हो म पागलहुँ ।
तिमीहरूलाई भोट दिएर नेता
बनाउने म पागल नै हुँ
तिमीहरूलाई भोट दिएर
देशको ढुकुटी बर्बाद पार्न पठाउने
ति गरिब जनता पनि पागल नै हुन्
त्यसैले, मर्न तयार छु
तिनै पागल जनताहरूका लागि
किनकि म पागल हु ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक