आउनुहोस् पागल बन्न : पुष्पा खनाल (कविता )
कपन अनलाइन
काठमाडौं ,कार्तिक १।
एउटा पागलवस्तीमा
म पनि थपिएकी छु अर्को पागल
आउनुस् तपाईं पनि
पागलहरूको वस्ती विस्तारमा
एउटा दरिलो विश्वासको ईंटा बोकेर
महापागल बन्नलाई ।
मेरो देशको माटोको रङ्ग उडिसकेको छ
मेरो देशको हावाको ढङ्ग बदलिसकेको छ
मेरो देशको इज्जत खुइलिसकेको छ
व्वाँसाहरूको बोसोले
मेरो देशको लाली पुरिइसकेको छ
पगाल्नु छ त्यो बोसो
पागलपनको आगोले
पोत्नु छ लाली फेरि
क्षितिजमा धुमिलिँदै गरेको
गोधुली फर्काएर
एक अञ्जुली आशा म भर्छु
अर्को अञ्जुली थप्न आउनुस् तपाईं
पागललाई साथदिन ।
एक मुठ्ठी आसमा ती पागल बसेका छन्, भोकभोकै
आउनुस् हामी पनि बसौँ उनी सँगै अनसन
र तोडौँ सिंगै देश निलेर पनि नअघाएकाहरूको भुँडी
आउनुस्, पागलवस्तीमा अर्को पागलबन्न
तीन करोड नेपालीको भविष्य बोकेर
महापागल बन्न ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।