विगतको बिस्कुन: त्रिलोचन आचार्य (कविता )

विगतको बिस्कुन: त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन
काठमाडौं ,असोज ३।

१. कस्तो पेट रहेछ यो विगतको अट्ने भएको जति
फिर्ता गर्नुपरेन राख्दछ सबै बित्दै गएको जति
के हो त्यो कसरी अटाउँछ त्यहाँ भण्डार कत्रो छ र ?
हे स्रस्टा भन देखिँदैन जुन त्यो संसार कत्रो छ र ?

२. भन्दै बस्छ अतीत त्यो विगतका मेरा सबै हुन् भनी
तारा घाम र जूनका परिधिको घेरा सबै हुन् भनी
कालो काल उठेर फन्फन घुमी लाने सबै हुन् भनी
मान्छेका छलछाम भित्र छलिँदै जाने सबै हुन् भनी ।

३. जान्छन् वर्षहरू वितेर बहुतै खाँदेर त्यै राख्दछ
चाङै चाङ बनाउँदै सब कुरा बाँधेर त्यै राख्दछ
यत्रा मानिस गैसके विगतले देखिन्न तान्यो कहाँ
को जाने अनि को यतातिर हुने देखिन्न छान्यो कहाँ ।

४. पुस्तौँदेखि गएर बिस्कुन भए कत्रो छ कालो कुना ?
छान्दै लग्दछ रित्तिए पनि धरा गथ्र्यो बियाँलो किन ?
यो सम्पत्ति हुने र यो गरिब हो भन्दैन लाने दिन
यौटा स्वर्णिम साम्यवाद छ भने होला त्यतै ठान्छु म

५. हाल्दा बिस्कुन भद्रगोल कि त्यता राम्रो व्यवस्था छ ए !
गर्ने मोज यहाँ थिए नि ! तिनको कस्तो अवस्था छ ए !
रच्दा कर्तुतका अनेकन कथा थुन्ने व्यवस्था छ कि ?
यैँ झैँ खर्च ग¥यो मरोस् न त भनी चुन्ने व्यवस्था छ कि ?

६. बोले हुन् अघि जो गए नि तिनले भाका नबुझ्ने छु म
देखे पण्डितले फटाफट अहो ! लाटो छु शुन्यै छु म
पायौँ जीवन खस्किँदै क्रमशः यो, जानेछ लाग्दै घुन
गर्ने प्राण छँदै गरौँ विगतको जे हुन्छ होस् बिस्कुन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।