ऐना : सुबोध तिवारी ( कविता )

ऐना : सुबोध तिवारी ( कविता )

कपन अनलाइन

काठमाडौं ,भाद्र २०

जब तिम्रो र मेरो
जम्काभेट भएको थियो
त्यो पल मेरो निमित्त
अविस्मरणीय क्षण बनेको थियो,
म आश्चर्यमा थिए
भयभीत थिए
र त्रस्त पनि,
यो सब के देख्दै छु
एउटा सिसाभित्र
मानवीय चित्रण
त्यो पनि आफ्नै !

पुनः मनमा कौतूहल जागेर आयो
ऐनातिर हेरे
र प्रश्न गरे
तिमीसँग अरू के–के गुण छन् ?
सोही बखत ऐनाले
मलाई मलिन नजरले हेर्यो
र म क्रमशः मलिन हुँदै गए
फेरि मुस्कान दिलायो
मैले पनि हृदयमा मन्द मुस्कानको आभास पाँए ।
अकस्मात्
मेरो अनुहारमा क्रोध पाँए
त्यहि बखत आफूलाई कुरुप पाँए
र सोच्न बाध्य भए ।
तिमीमा महान् कला रहेछ
तिमी
ठाँउ, परिस्थिति आवश्यकता अनुसार
आफूलाई बदल्न सक्ने रहेछौ ।

बधाई छ ऐना !
मनन गरे
तिमीसँग भएका हर गुण
ममा पनि भैदिएको भए ?
किन तिमीले जस्तै
यो मानवीय जीवनमा
हर मानिसले सत्यापन गरेर
आफूलाई प्रस्तुत गर्न
सकिरहेका छैनन्,
हर मानिसहरू
आफ्नो मिथ्या जोगाउन
क्रोध र घमण्ड देखाएर
भिडमा पनि उपस्थित पाइन्छन् ।
के मानवीय गुण यो नै हो त ?
के मानिसले पनि ऐनाले जस्तै
सुन्दर संसार सृजना गर्न सक्दैन र ?
अवश्य पनि
मात्र प्रयास गरेर हेर्नुहोस्
तपाईँ हामीले बनाएको
ऐना हो यो
जुन निर्जीव छ र कुशल पनि ।
यो समाजमा कैयौँ पटक
ऐनाको रूप धारण गर्न खोज्दा
लडेको छु,
तर हिम्मत भने कदापि हारेको छैन् ।
यो समाज यथार्थमा यत्तिसम्म
बिग्रिसकेको छ
कुनै पल ऐनाले कसैको अनुहार
विरूप देखाउछ
त आफू परिवर्तन हुनुको बदला
निर्जीव ऐनामाथि नै क्रोध पोखिरहेका हुन्छन् ।
ल तपाईँ आफै भन्नुहोस्
कुरुप मानिस कि ऐना ?
अन्ततः आदरणीय महोदय !
जीवनमा सुखद अनुभूति
बटुल्नु छ त,
कृपया तपाईं
तपाईंको रूपलाई
ऐनासँग तुलना गर्नुहोस्
यदि ऐनाले तपाईंलाई मुस्कान दिलाउछ त सोच्नुहोस्
तपाईंको भविष्य उज्वल छ
ऐना जस्तै
केवल ऐना ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।