जिन्दगीको कारागारबाट :शङ्कर भण्डारी (कविता )

जिन्दगीको कारागारबाट :शङ्कर भण्डारी (कविता )

कपन अनलाइन

काठमाडौं ,भाद्र १६।

ब्युँझेर हर बिहान
फेरि निदाउने कोशिसमा
पल्टिन्छ अर्को एउटा रात
समयलाई पर्दैन कुनै फरक
म ब्युँझनु वा निदाउनुमा
समय बगिरहन्छ उसैगरि
सेकेन्ड, मिनेट, घण्टा, दिन, हप्ता
महिना र बर्ष हुँदै
समय कहिले तातो भएर
कहिले चिसो भएर आँउछ
म महशुस गर्छु बश
चुपचाप थापिदिन्छु समयलाई
आफ्नो ओच्छ्यानभरि
मलाई उस्तै लाग्छ हरेक दिन
उस्तै लाग्छ,
समयले बोकेर ल्याउने उज्यालो
र समयले छोडेर जाने अँध्यारो लाग्छ,
उज्यालो सताउन आँउछ
अँध्यारो तर्साउन आँउछ
मलाई थाहा छैन,
म चाहेर कुर्छु समयलाई
वा नचाहेर झेल्छु यसलाई
म व्यस्त हुन्छु हरदिन
आफ्नै दैनिकीमा
म मस्त हुन्छु हररात
आफ्नै नियतिमा
मलाई थाहा छैन
म सञ्चै आरामै छु
वा बिरामी रोगी
मलाई यो पनि थाहा छैन
कि मान्छे आरामै कसरी हुन्छ?
मलाई केहि थाहा छैन
कस्तो मान्छे बिरामी हुन्छ?
न मलाई हिजोसँग कुनै गुनासो छ
न भोलीसँग कुनै आग्रह
मैले बिर्सिसके,
कस्तो हुन्छ आफ्नाहरूसँग को न्यानो ?
वा कस्तो हुन्छ वैरीहरूको तिरस्कार ?
म सुन्दिन अचेल,
कसैको कठैबरा
न सुन्छु कसैको भद्दा गाली
लम्पसार मुढो भईदिएको छु आजकल
न बोल्नुपर्छ कसैसँग
न सुन्छु कसैलाई
कुनै प्रश्न छैन दिमागमा
थाहा पाउँदिन मैले
के(के गर्छन मान्छेहरू
के सोच्दैछ यो दूनियाँ
एउटा बन्द पिंजडाभित्र
जसरि थुनिएको हुन्छ एउटा अमुक पंक्षी
त्यसरि नै थुनिएको छु म
जिन्दगीको कारागारमा
मलाई अचेल
पाखण्ड लाग्छ,
बाँच्ने बहानाका
सबै तानाबानाहरू
व्यर्थ लाग्छ सबै दौडधुप
मिथ्या लाग्छ सत्यका दावीहरू
झुठा लाग्छन जीवनका महाख्यानहरू
भ्रम लाग्छन आदर्शका कथाहरू
जीवनदेखि थाकेर होईन
जीवनदेखि भागेर पनि होईन
कुनै कम्पनिका उत्पादन जस्ता लाग्छन
मान्छेका विचारहरू
बेअर्थका लाग्छन
मान्छेका व्यस्तताहरू
यस्तो लाग्छ,
कृत्रिमता पोतेर अनुहारभरि
कुनै कमेडि गरिरहेछन मान्छेहरू
केक काटेर फगत
जन्मनुको संयोगमा
रमिता गरेजस्तो लाग्छ मान्छेहरू
क्याण्डल निभे जसरि
जिन्दगी निभ्ने यर्थातलाई
भूलेर मान्छेहरू अचेल
अमरत्वको पाखण्ड नाचिरहेछन
इर्ष्या, कुण्ठा र कहिल्यै नभरिने
लोभको खाल्डो खनेर आफै
सिध्याईरहे जस्तो लाग्छ मान्छेहरू
आ(आफ्ना व्यर्थका जिन्दगीहरू
न मान्छेको मुखबाट निस्कने
शुभेक्क्षाहरू साचो हुन्छन
न आँखाबाट खस्ने समवेदना
अनुहारभित्र सयौंर हजारौं
अरू अनुहारहरू लुकाएर
हाँसोभित्र अनन्त
दुःखपीडा चबाएर
फगत अभिनय गरे जस्तो लाग्छ मान्छे
पक्ष – विपक्षमा
वाद – प्रतिवादमा
बिना अर्थ यसरी अल्झिन्छ मान्छे
जसरी अल्झिन्छ किरा माकुरी जालमा
मान्छे छलफल गर्छ
बहस, तर्क–वितर्क गर्छ
तर न आफूलाई कन्भिन्स गर्छ
न त कहिल्यै अरूलाई गर्न सक्छ
मान्छे शोकमा सामेल हुन्छ
तर कहिल्यै शोकाकुल हुँदैन
मान्छे भोजमा भतेर खान्छ
तर कहिल्यै अघाउँदैन
जिन्दगीको दौडमा यसरि भाग्छ मान्छे
जसरि कुनै रेसमा घोडा
र पुग्छ त्यहि ठाउँ
जून ठाउँ नकुदेरै पनि पुग्न सकिन्थ्यो
यसरि जिन्दगीको कारागारबाट हेर्दा
लाग्छ आफ्नै जिन्दगी
कसैले धरौटीमा राखेको कुनै सामान हो !

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।