घुर्की नलाऊ :वासुदेव ठकुरी (कविता )
कपन अनलाइन
काठमाडौं ,भाद्र १४।
दियौ सँधै चोट कडा असाध्य ।
खपें सहेरै म भएर वाध्य ।।
संवन्ध यो तोड्न गर्यौ हतार ।
घुर्की नलाऊ प्रिय बारबार ।।१।।
तिमी बिना नै पनि बाँच्न सक्छु ।
पिएर आँसु म त हाँस्न सक्छु ।।
जाऊ म एक्लै पनि बोक्छु भार ।
घुर्की नलाऊ प्रिय बारबार ।।२।।
बाँच्ने कलाको नव बीज छर्छु ।
नयाँ तरीका रचना म गर्छु ।।
कस्ता समस्या सब लाग्छ पार ।
घुर्की नलाऊ प्रिय बारबार ।।३।।
म सक्छु यो जीवन काट्न एक्लै ।
अन्योल चिर्ने छ अठोट बेग्लै ।।
बग्ने नदीले पनि फेर्छ धार ।
घुर्की नलाऊ प्रिय बारबार ।।४।।
रहस्य के हो बुझ मित्रताको ।
होस् अन्त्य सारा जडसूत्रताको ।।
संसार सारा मनमा विचार ।
घुर्की नलाऊ प्रिय बारबार ।।५।।
(सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक )
तपाइँको प्रतिक्रिया ।