आमा तिम्रो हार भयो : तिलकराम पोख्रेल (कविता )

आमा तिम्रो हार भयो : तिलकराम पोख्रेल (कविता )

कपन अनलाइन

काठमाडौं ,साउन १०।

बचपनमा
मलाई तिम्रो कथाहरू
उखानहरू
टुक्काहरू
सुनेर सुत्न पाउँदा
भुल्न पाउँदा
साह्रै मजा लाग्थ्यो

कुनै गीतको
मुन्टा भाँचेर
किन लेखेको भन्दा
भए भरका मनका मुना जोडेर
कथा बनाउँथ्यौ
सकिएन भने
उपन्यासै बनाउँथ्यौ एक हप्ताको लागि

मलाई याद छ
कुसुमे रूमाल गीतको
सम्झना र कुसुमे रूमालको
सम्बन्ध सोधेको थिएँ
तिमीले पूरै एउटा
मुनामदनको कथाझैं
स्वरचित कथा सुनाएर
मलाई भुलाएकि थियौ

कतिलेखेर नसकिने कुरा छन्

तर जब ठूलो हुँदै गएँ
तिमी भन्दा कथा भन्ने
इतिहासको निम्ति लगानी गरेर
स्वरचित सपनाको व्यापार गर्ने
कतिपयको भाषणमा पल्केको छु
उनिहरूले देखाएको
सपनाको हिमालको चुचुरोमा भुलेको छु
उनिहरूले देखाएको
पाण्डवको भातृप्रेममा अल्मलिएको छु
उनिहरूले मार्गदर्शन दिएको
विभिषणको कथा बुझेको छु
साथसाथै सकुनिका भक्तिहरूको पनि
मन्तव्य सुनेको छु

यिनीहरूको कथामा झन भुल्लिन थाल्दा
तिम्रो हार भयो
कथा त आमाले भन्दा
यिनैले भन्न जान्दा रहेछन्
वाचनशैली पनि पूरै मिठो
आहा !

हो आमा तिम्रो हार भयो

समाजमा लागे देखि
तिम्रो कथा व्यथा रहेछ बुझें
कथा त बल्ल सुन्दैछु

तर पनि मलाई तिम्रै कथा माया लाग्छ
तिम्रै कथामा विश्वास लाग्छ ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।