जडिबुटीको व्यवसायिक खेतीका लागि बागमती प्रदेस सरकारको विशेष कार्यक्रम
कपन अनलाइन
काठमाडौं ,असार २।
बागमती प्रदेस सरकारको आर्थिक वर्ष २०७७ /७८ का लागि प्रस्तुत गरेको बजेटमा बन तथा वातावरण क्षेत्र लक्षित विशेष योजनाहरु अगाडी सारेको छ। बागमती प्रदेस सरकारले पकेट क्षेत्रमा जडिबुटी खेती गर्ने,वन्यजन्तु उद्धारका लागि मकवानपुर र काठमाण्डौमा द्रुत उद्दार टोलीको व्यवस्था गर्ने ,काष्ठ सिजनिङ तथा ट्रिटमेन्ट प्लान्ट स्थापना गर्ने लगायतका योजनाहरु बजेटमा समेटेको छ।
प्रदेसका आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश ढुंगेलले बन तथा वातावरण क्षेत्रको विकासका लागि प्रस्तुत गरेका योजनाहरु :
१. संरक्षित क्षेत्र बाहिर गैडा, सालक र रेडपाण्डा लगायत लोपोन्मुख तथा दुर्लभ वन्यजन्तु र तिनको वासस्थान संरक्षणका लागि बजेट प्रस्ताव गरेको छु । वन्यजन्तु उद्धारका लागि मकवानपुर र काठमाण्डौमा द्रुत उद्दार टोलीको व्यवस्था गरी परिचालनका लागि रकम व्यवस्था गरेको छु ।
२. लेकाली क्षेत्रको वन, वन्यजन्तु र वनस्पति संरक्षणका साथै उक्त भेगका जनताको जीविकोपार्जनमा टेवा पुर्याउन उपल्लो धादिङको वनलाई संरक्षित वनको रुपमा व्यवस्थापन गर्न रकम विनियोजन गरेको छु ।
३. जडिवुटीको व्यावसायिक खेती विस्तारका लागि पकेट क्षेत्रमा जडिबुटी खेती गर्ने र सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा निजी, सहकारी, समूह तथा समुदायको सहयोगमा जडिवुटी फर्म संचालन गर्ने व्यवस्था मिलाएको छु ।
४. टिमुर, अमला, सतुवा, चिराइतो, लौठसल्ला जस्ता प्रजातीको कम्तिमा २०० रोपनी क्षेत्रफलमा जडिवुटी खेती गर्ने गरी १९ वटा प्लट खेती गर्न आवश्यक बजेट विनियोजन गरेको छु । यो कार्यक्रमबाट ७२०० रोपनीमा जडिवुटीमा खेती हुनेछ । यो कार्यबाट १४४०० जना नागरिकले अल्पकालिन रोजगारी प्राप्त गर्ने अनुमान छ ।
५. समूह, समुदाय, सहकारी, निजी, कम्पनी वा फर्मको साझेदारीमा खेर गएको खालि जमिनमा नीजी वन विकास लागि कम्तीमा १० हेक्टर को प्लट बनाइ व्यावसायिक वन विरुवा तथा फलफूल रोपण गर्न व्यवस्था गरेको छु । भित्री मधेस तथा पहाडी क्षेत्रमा नमुना कृषि वन फर्म संचालनका लागि रकम विनियोजन गरेको छु ।
६. गरिबमुखी कबुलियती वन विकास कार्यक्रमको प्रभावकारीताका लागि गरीब समुदायको आयमा वृद्धि गर्न कृषि तथा वन कार्यालयको समन्वयमा कागति, लिची, जुनार लगायतका फलफूल रोपण कार्यक्रमको लागि रकम व्यवस्था गरेको छु ।
७.काठमाण्डौ र मकवानपुरमा हाइटेक नर्सरी स्थापनालाई निरन्तरता दिएको छु। भू तथा जलाधार संरक्षण कार्यालय अन्तरगत वृहत बाँस नर्सरी र हरेक जिल्लामा कम्तीमा एक केन्द्रीय नर्सरी स्थापना गरी गुणस्तरीय वहुवर्षीय विरुवा उत्पादन गर्न कार्यक्रम प्रस्ताव गरेको छु।
८. स्थानीय तह, सहकारी तथा समुदायको सहकार्यमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा नरम काठ उद्योगका लागि काष्ठ सिजनिङ तथा ट्रिटमेन्ट प्लान्ट स्थापनाका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
९. जलवायू परिवर्तन न्यूनीकरण तथा अनुकुलन कार्यक्रम अन्तरगत जलपुनर्भरण रिचार्ज पोखरी, विभिन्न प्रजातीको वृक्षारोपण, वन डढेलो नियन्त्रण लगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरेको छु।
१०. समुदायको सहभागितामा वन तथा जैविक विविधताको दिगो संरक्षण गर्दै वन पैदावारको उचित सदुपयोग र व्यवस्थापन गर्न सामुदायिक वन, कबुलियती वन, संरक्षित वन, धार्मिक तथा निजी वन विकास कार्यक्रमलाई निरन्तरता दिएको छु । समुदायद्वारा व्यवस्थापन भै रहेका ३४९ वटा सामुदायिक वन तथा २८० वटा कवुलियती वनको कार्ययोजना पुनरावलोकनका लागि रु १० करोड १२ लाख विनियोजन गरेको छु ।
११. निजी तथा राष्ट्रिय वनबाट बीसलाख घनफीट काठ उत्पादन हुने लक्ष्य लिई काठको उत्पादन वृद्धिका लागि सिल्भिकल्चरमा आधारित वन व्यवस्थापन प्रणाली अनुसारको १६२ वटा सामुदायिक वनको कार्ययोजना कार्यान्वयनमा सहयोग गर्न आवश्यक रकमको व्यवस्था गरेको छु । सिल्भि कल्चरमा आधारित वन व्यवस्थापन प्रणालीबाट ११५४ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ ।
१२. प्राकृतिक प्रकोप व्यवस्थापन, विकासका पूर्वाधार संरक्षण तथा भू उत्पादकत्व वृद्धिका लागि भू तथा जलाधार व्यवस्थापन कार्यक्रमका लागि एकमुष्ट रु। ३७ करोड विनियोजन गरेको छु।