बिपद् र छिमेक : लक्ष्मण ज्ञवाली (कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २७ ।
जब बिपद् सुटुक्क आयो
उपल्लारे सानेले चालपायो
खैला बैलामच्चियो !
विपद् चानचुने थिएन
चौतर्फि गुहार लगायो
विपद् आयो ! विपद् आयो !
अंह ! कसैले सुनेन
आफ्नो बर्कत र औकातले
सामना गरेर देखायो
छिमेकी सेतेले मजाक उडायो !
ओंठ लेप्राउदै कुहिना मड्कायो
सम्झ्यो म त शहंशाह
तेस्ताझुसे विपद्
मलाई के वास्ता
परे त्यसैलाई परोस
भन्यो (बल्ल खायो ।)
घमण्ड र उन्मादले चुलिएको
मानवता हिन बैगुनी न हो !
आज
जब विपद् सूचना दिएर आयो
ढोल बजाएर आयो
संसार घुमेर विपद्
आफ्नै सरहद भित्र आयो
अनिमात्र सेतेले चालपायो ।
मेरो जेट, मेरो रकेट, मेरो क्षेप्यास्त्र
मेरो अणु, मेरो परमाणु, मेरो बैभव
आलिसानभवन, टावर, कोठा चोटा
जमिनआसमान समुन्दर
कताजाउं कता लुकूँ
कहाँ छ मेरो शक्ति हँ ?
आफैलाई लोप्पाख्वायो
केबल लासै लासको खात
सबै आफ्नै आफ्ना
हाहा कस्तो आपद् ! कस्तो बिपद्!
त्राहीमाम ! त्राहीमाम !
अझै पनि चेतेको छैन उस्ले
छटपटाउने गर्छ, हिनहिनाउने गर्छ
संसार कैद गर्ने यो विपद्
कोरोना नामको बिषाणु
त्यै मोरो छिमेकी
उ पल्ला घरे सानेले पठाको रे
छिमेकी सेतेले तेसै भन्न थालेको छ
आफ्नै आँगन मशानघाट बन्दै गर्दा
अफबाहको अगुल्टो फालेको छ ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक