घरबेटी बा !(लघुकथा )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १८/तारा केसी
बिहानै कोठामा घरबेटी बाआएर भने “हेर हरिकृष्ण ! तिम्रो छोरी नर्सलाई कि जागीर छोड भन कि कोठा खाली गरिदेऊ ।”
घरबेटी बाको स्वार्थी कुरा सुनेर हरिकृष्णले भने – “कस्तो कुरा गर्नुभाको घरबेटी बा ! यो स्थितिमा डाक्टर नर्सले जागीर छोडे, बिरामीको कस्ले गर्छ उपचार ?”
“यस्ता कुरा नगर हरिकृष्ण ! तिम्रो छोरीको कारणले हामीलाई पनि कोरोना सर्न के बेर ?त्यहिभएर सोच हरिकृष्ण !”
कस्ता कस्ता मान्छे बसेका हुन मेरो घरमा भन्दै फत्फताउदै घरबेटी बातल्लो तलातिर लागे । तल्लो तलामा बस्ने बिधार्थी भाइहरू सित पनि उनी
त्यसरी नै कराएका थिए ।
“दुई महिना भैसक्यो भाडा नदिएको, दिनु पर्दैन ।” घरबेटी बाको कुरा सुनेर बिधार्थी भाइले विनम्र भएर भन्यो – “घरबेटी बा ! समस्या छ, हाम्रो पनि । घरबाट पैसा पठाउने माध्यमपनि छैन । लकडाउन छ कतै निस्कन पनि पाको छैन । लकडाउन खुलेपछि तिर्छाै फेरि सरकारले पनिदुई महिनाको भाडा छुट भनेर भनेकै छ नी घरबेटी बा !” घरबेटी बा जंगिए–
“उसो भए तिमी सरकारको मै गएर बस न त किन तिर्छाै घरभाडा, मेरो घर । सार्वजनिक ठाउँ हो र भाडा नलाग्ने ? मैले ऋण गरेर बनाएको घर । मिनाहा गर्छ बैंकले मेरो ऋण ?बत्ती, पानीको शुल्क मिनाहा गर्छ सरकारले ? कर छुट गर्छ ? सोधेर आऊ तिम्रो सरकारलाई अनि म पनि भाडा छुटको बारेमा सोचौला ।”
घरबेटी बा रिसाए पछि बिधार्थी भाइहरू चुपलागे । घरबेटी बा रिसाउदै अर्काे कोठामा छिरे । गाडीमा काम गर्ने भाइले दालमोढ चिउरा चपाउदै भन्यो –
घरबेटी बा ! मेरो पनि समस्या यस्तै छ । कयौ दिन देखि घरमा चुलो बलेको छैन । वडामा राहत बाड्दै छ भनेर श्रीमती दिनभरि लाइनमा बसी । बाहिरी जिल्लाको मान्छे भनेर फर्काइदिएछ । के गरौ घरबेटी बा ! कमाई हुदा त सुरूमै घरभाडा बुझाएकै थिए । अहिले अप्ठ्यारो पर्यो ।”
घरबेटी बा केहीनबोलीआफ्नो कोठातर्फ लागे र बुढीलाई भने – “बुढी ! भरेदेखि हाम्रो पनिचुलो नबल्ने भयो ।”
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक