सासु बुहारीमा – सन्देश (कविता)
कपन अनलाइन
काठमाडौंजेठ १५ /कृष्णप्रसाद नेपाल
सासु हुन् जननी तुल्य गृहिणी कुल रक्षक
अडेका तिनमा हुन्छन् परिवार ससम्मत ।
कुलको मान मर्यादा जोगाई खुब यत्नले
बनाइ एकता राख्नु धर्म हो स्नेह रत्नले ।
खटन कामको बोझ समभाव बरोबरी
रूचि सक्षमता हेरी सबै बधू बराबरी ।
विवेक ज्यान र ज्ञान सासुले जान्नुपर्दछ
बुहारीहरूले सासु आमाझैॅ मान्नुपर्दछ ।
सासु बुहारीको मेल भएका घर उच्च छन्
झगडा दुइमा हुने मसाने घर तुल्य छन् ।
आमाको काख छोडेर बुहारी घर आउॅछिन्
सासुले नगरे माया कसरी ती रमाउछिन् ।
सानातिना कुरा झिकी हुन्न मन बिझाउन
मन फाटे कहाॅ मिल्छ वस्रसरि सिलाउन ।
सासुको अपेक्षा हुन्छ मर्यादा शानमानमा
बुहारी आशमा मिठो वचन खानपानमा ।
सफल कामको लक्ष्य बिहानी भै उदाउनू
खुल्ला हृदयका साथ पुष्प झैॅ मुस्कुराउनू ।
नारी भै नारीको मर्का नबुझे कस्ले बुझ्दछ
कुल मर्यादाको गान बधूमा कस्ले भर्दछ ।
भाषा संस्कृति संस्कार सभ्यताको बनी गुरू
बुहारी सबमा शिक्षा दिनुपर्छ खुरुखुरु ।
लताले भरोसा खोज्छ आरोही थाॅक्रोमा हुन
शील विनयता देऊ बुहारीमा भरी गुण ।
भोलिको भर क्यै हुन्न धन शक्ति घमण्डको
बुहारी सुसारे बन्छे सहारा वृद्ध कालको ।
बझाउने कुरा हुन्छन् बैरी दुश्मनका कति
फुटाई घरको चाल जाल बुन्लान् सके जति ।
सचेत रहनुपर्छ नटुटोस् स्नेह भावना
मर्यादा एक अर्काका अमर हित कामना ।
बुहारी घरकी तिमी मुटुतुल्य धरोहर
हे सासु ममता देऊ बुहारीमा बराबर ।
बुहारी धन्य छौ तिमी मर्यादा कुल सौरभ
स्वर्ग तुल्य गृह अहा सजाऊ उच्च गौरव ।।
(कवि अरुणोदय माबीका प्रधानाध्यापक हुन् )