हाम्रो काले पनि कवि भएछ ! (कविता)
कपन अनलाइन
काठमाडौं,बैशाख २४ /दिवाकर चालिसे
एकहुल मानिसहरु कबिता भनिरहेको देखेर
हाम्रो कालेलाई पनि कविता लेख्न र भन्न मन लागेछ
उ भिडमा गएर मिसियो,एउटा कुर्सिमा थचक्क बस्यो
वरिपरी कागजको टुक्रा खोज्यो,तर पाएन
अनि एउटा चुरोटको बट्टा फेला पर्यो
र त्यसैमा
सर्रर एउटा कविता कोर्यो र आयोजकलाइ दियो
उसको नाम बोलाइयो
अनि मन्चमा उक्लेर सर्रर कबिता पाठ गर्यो सबैले तालि बजाए
प्रमुख अतिथिले खुबैप्रसंशा गरे
सभापतिले धन्यवाद भने
खुबै तारिफ खायो हाम्रो कालेले
भोलिपल्ट टोलमाहल्ला फैलियो
हाम्रो काले त कवि भएछ
उसका कविताको बिवेचना हुन् थाल्यो
कसैले स्वर्ग जस्तो कविता भने
कसैले घाम जस्तो कविता भने
कसैले इन्द्रेणी जस्तो कविता भने
कसैले जुन जस्तो कविता भने
भन्नेले अझैपनि अरु धेरै विश्लेषण लगाए
अर्थ नआउनेले आकाश जोडीदिए
अर्थ लाउनेले पाताल जोडीदिए
बखानै बखानको भुमरीमा राखेर
हाम्रो कालेलाई आकाशमै पुर्याईदिए
खुबै प्रशंसा चिलिएको सुनेर
एउटा पत्रकारले कालेलाइ भन्यो –
खुबै राम्रो कविता लेख्नुभएछ
र सोध्यो पनि
यो बिषयमा कविता लेख्न कसरि सोच्नुभयो ?
के सोचेर यस्तो कविता लेख्नु भयो ?
बिचरा काले !
हाम्रो काले ट्वा परेर पत्रकारको मुख हरिरह्यो मात्र !
बिचरा,पेट भोको थियो
भीडमा चिया चमेना चल्दैथियो
मात्र त्यसको लागि भिडमा गएर मिसिएको थियो
र, त्यो बेलामा दिमाखमा के कुरा खेलेको थियो, कुन्नी!
चुरोटको बट्टामा केहि लेखिटोपलेको मात्रै थियो
अर्थ लगाउनेले लगाईदिए
आकाश,पातल स्वर्ग,घाम,जुन
सबै जोडिदिए
ठुलै कवि पो बनाई दिए
बिचरा उसलाई नै थाहा थिएन उसले के लेख्यो कुन्नी
भोको पेटमा के कुरा फुर्यो उसलाई नै थाह थिएन
उसलाई नै थाह भएन उसको कविताको अर्थ के थियो
पत्रकार महोदय उत्तर पाउने आशामा बसिरहे
तर काले बिचरा उसकै अनुहार हेरेर
केहि नबोली बसिरह्यो बसिरह्यो
किनकी उ संग पत्रकारको प्रश्नको कुनै उत्तर नै थिएन ।
(कवि दिवाकर चालिसे गोकर्णेश्वर नगरपालिका वडा नं ८ निवासी हुन् )