टोखा नगरपालिका वडा २ र ३ समन्वय समितको बैठक सम्पन्न, उपप्रमुखको संयोजकत्वमा अनुगमन टोलि गठन
कपन अनलाइन
काठमाडौं ,चैत १३
नेपाल सरकारले कोरोना भाइसरको संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि गत सोमबारदेखि देश भर लक डाउन गरेसंगै त्यसलाई प्रभावकारी बनाउनका लागि टोखा नगरपालिका वडा नं २ र ३ को कोरोना भाइरस समन्वय समितको संयुक्त बैठक सम्पन्न भएको छ ।
बुधबार टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलको अध्यक्षतामा टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा बसेको बैठकमा टोखा न.पा २ र ३ को पछिल्लो अवस्था तथा भावि रणनीतिका विषयमा जनप्रतिनिधि, स्थानीय राजनीतिकर्मी, स्वास्थकर्मी, पत्रकार तथा सुरक्षाकर्मी बीच छलफल गरिएको थियो ।
आज बसेको उक्त बैठकले २०७६ चैत्र महिनामा विभिन्न देशबाट घर फर्केकाहरुको जानकारी लिई तत्कालै क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने । त्यस्तै टोखा न.पा. वडा नं. २ र ३ बाट एमबिबिएस गरेका डाक्टरहरुको पूर्ण जानकारी लिने (नाम संकलन गर्ने) र घर घरमा गएर ज्वरो नाप्ने लगाएतको विभिन्न किसिमको सहयोगको लागि अनुरोध गर्ने समेत निर्णय गरेको छ ।
त्यस्तै गरी लकडाउन प्रभावकारी ढंगले कार्यान्वयनको लागि प्रहरीलाई तत्काल परिचालन गराउन अनुरोध गर्ने । घर घरमा उपचार गराउन आवश्यक मेडिकल सामाग्री तत्काल नगरपालिकामा टोखा प्राथमिक स्वास्थ्य केन्द्र मार्फत पत्राचार गर्ने, सवारी साधन लकडाउन उल्लंघन गरी चलाएको पाइएमा नियन्त्रणमा लिने र टोखाको सम्पुर्ण पसलहरु लकडाउन अवधिभर पूर्ण रुपमा बन्द गराउने निर्णय गरिएको थियो ।
तर लकडाउन अवधिभर पसलहरु विहान र बेलुका उपयुक्त समयमा खोल्ने व्यवस्था मिलाउन भोलि पुन बैठक बस्नेछ ।
माथी निर्णय गरेका विषयहरुको अनुगमन गर्नका लागि उपप्रमुख ज्ञानमाया डंगोलको संयोजकत्वमा १३ सदसीय अनुगमन टोलिको गठन गरिएको छ ।
जसमा टोखा न.पा. २ का वडाध्यक्ष दिपक राज जोशी, ३ का वडाध्यक्ष सिंह राज श्रेष्ठ, देवाराज डंगोल(नेकपा), राजवीर डंगोल(नेमिकपा), काईला डंगोल(नेपाली काँग्रेस प्रतिनिधि), अष्ट कुमार श्रेष्ठ(नेपाली काँग्रेस प्रतिनिधि) रहेका छन् । त्यस्तै गरी युथ महर्जन( टोखा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति सदस्य), पुरुषोत्तम श्रेष्ठ (डाक्टर), सुविन्द्र श्रेष्ठ (पत्रकार), शोभित अर्याल (टोख महानगरी प्रहरी प्रभाग) , टोखा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख र सत्यनारायाण डंगोल (टोखा न.पा. कानूनी सल्लाहकार) रहेका छन् ।