कोरोनाका आँखाले !
कपन अनलाइन
काठमाडौं ,चैत ७। त्रिलोचन आचार्य/ कविता
कोरोना पो जगतभर नै राज गर्ने भएछ
मान्छेभित्रै लुसुलुसु पसी बास सर्दै गएछ
चिन्तै चिन्ता छ सब मनमा हैन कस्तो डसेको ?
नौलो विज्ञान पनि यसको मृत्यु जान्दैन के हो ?
मै हूँ भन्ने जगतभरका शक्तिशालीहरूको
धर्ती बोक्ने बलरहित छन् यो छ कस्तो गहु्रङ्गो ?
देख्दा मान्छे क्षत विक्षत भै घाटमा नारिएका
हेछ्यौँ आमा भनन कसरी सन्तती मारिएका ?
भन्दै राम्रो प्रगति जगतै गाउँ यौटै बनायौँ
जुट्ने मान्छे वर र परका ठाउँ यौटै बनायौँ
हिँड्ने डुल्ने रहर पनि त्यै स्वाद उस्तै बनायौँ
उस्तै छन् शत्रु पनि हमला एउटै आज पायौँ ।
मान्छे हिँड्दा सब सँगसँगै यानमा त्यो सँगै छ
आफन्तै छन् वरपर सँगै ज्यानमा त्यो सँगै छ
जान्छौ खाने चिज लिन अहो ! लाममा त्यो सँगै छ
को बँच्ने हो भनन ? छ भने दाममा त्यो सँगै छ ।
हुन्छन् ठूला मुलुक मसिना देशलाई नगन्ने
बस्छन् ठूला ढसमस कहाँ बस्छ सानो नभन्ने
सानो यो भाइरस पनि यी ढाल्न थाल्यो प्रसस्तै
तस्मात् सानातिर पनि झुकी गर्न थालौँ नमस्ते ।
कारोनाले धनि गरिबको भिन्नता सम्झिएन
कारोनाले शहर र कुनै गाउँ भन्ने चिनेन
कोरोनाले रुप र रङको मान त्यै भन्न चाह्यो
धर्तीका यी सकल थलमा गीत उस्तै सुनायो ।