त्रिभुवन विश्वविद्यालयको परीक्षा यथावत्
कपन अनलाइन
काठमाडौं, फागुन २७। त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
आगामी चैत ७ गतेदेखि शुरु हुने विभिन्न विभिन्न सङ्कायका परीक्षाको तयारी परीक्षा नियन्त्रण कार्यालयले पूरा गरेको छ । ‘कोरोना भाइरसको अहिल्यैकै अवस्थामा परीक्षा रोकिहाल्नुपर्ने अवस्था छैन’, नियन्त्रक जोशीले भने, ‘भाइरसका कारणले मुलुकमा नै सङ्कट घोषणा गर्नुपर्ने अवस्था आयो भने सोच्नुपर्ने हुन्छ ।’
त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले पनि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग त्रिविले परीक्षा सञ्चालन गर्नेबारे छलफल गरेका थिए । स्वास्थ्यमन्त्री ढकालले अहिल्यैकै अवस्थामा परीक्षा रोक्नुपर्ने अवस्था नरहेकोले त्रिविलाई यथावत् रूपमा सञ्चालन गर्न आग्रह गरेका थिए ।