जैल्यै राम्रो !

जैल्यै राम्रो !

कपन अनलाइन 

काठमाडौं ,फागुन १६ । त्रिलोचन आचार्य/ कविता

राम्रो तारा गण झलल ती रात राम्रो हुनाले
राम्रो आफ्ना जन सकलका बात राम्रो हुनाले
राम्रो खोला अनि नद–नदी सृष्टि राम्रो हुनाले
राम्रो सारा जगत मनको दृष्टि राम्रो हुनाले ।

राम्रो झर्ना छलल लय वा गीत राम्रो हुनाले
राम्रो छाया छवि रबि शशी प्रीत राम्रो हुनाले
राम्रो बान्की सकल युगको जीत राम्रो हुनाले
राम्रो थोपा जल र धरती शीत राम्रो हुनाले ।

राम्रो बेला बखत जनको आँट राम्रो हुनाले
राम्रो डाँडा चउर दिलको फाँट राम्रो हुनाले
राम्रो पीठो तक सब यहीँ भोक राम्रो हुनाले
धर्ती राम्री सुललित सबैथोक राम्रो हुनाले ।

आमा राम्री प्रकृति पथको त्याग राम्रो हुनाले
माटो राम्रो हलहल यहीँ साग राम्रो हुनाले
नानी राम्रो सरल दिलको माग राम्रो हुनाले
राम्रो सारेगमपदनिसै राग राम्रो हुनाले ।

हाँसो राम्रो शरद दिनको भेष राम्रो हुनाले
नासो राम्रो सरल श्रमको देश राम्रो हुनाले
आँखा राम्रा जगत मनले देख्न सक्ने हुनाले
जैल्यै राम्रो कलम कविता लेख्न सक्ने हुनाले ।

तपाइँको प्रतिक्रिया ।