बैक ब्यालेन्स् देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जना पक्राउ
कपन अनलाइन
काठमाडौं, फागुन ६ । अमेरिका जान भिसा प्रोसेसका लागि बैक ब्यालेन्स् देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई भक्तपुर ठिमीबाट आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बागलुङ, बागलुङ नगरपालिका-२ पयुपाटा कुँवर टोल घर भइ ललितपुर ईमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौउरे देउराली घर भई ललितपुर ईमाडोल बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् ।
काठमाडौं तार्केश्वर नगरपालिका-२ बस्ने नुवाकोटकी महिलालाई कुँवरले अमेरिका जानको लागि बैक ब्यालेन्स् देखाउनुपर्ने भन्दै विभिन्न प्रलोभनमा पारी आफ्नो बैंकका खातामा ६० लाख रुपैयाँ राख्न लगाई रकम राखेको भोलीपल्ट बैंकबाट विभिन्न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमतीपत्र राखी रकम निकाली ठगी गरी सम्पर्क विहिन भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
साथै उनीहरुले अन्य ३ जना समेतबाट ७० लाख रुपैयाँ लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ