रात्रीकालीन यातायात व्यवस्थापनको तयारी गर्दै काठमाडौं महानगर
कपन अनलाइन
काठमाडौँ, फागुन १ ।
सहरलाई जागा बनाउँदै लाने क्रममा २०७७ को नयाँ बर्षसँगै काठमाडौंमा रात्रीकालीन सार्वजनिक सवारी साधन सञ्चालन तयारीलाई तीब्र बनाउन महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सरोकारवाला निकायका अधिकारीहरुलाई आग्रह गरेका छन ।
बुधबार महानगरको सभा कक्षमा आयोजना गरिएको ‘काठमाडौं उपत्यकामा रात्रीकालीन सार्वजनिक यातायात र टयाक्सी सेवा सञ्चालन’ बिषयमा सरोकारवाला कार्यालयसँगको बैठकमा बोल्दै मेयर शाक्यले भने ‘यो सजिलो काम होइन । २०६९ सालमा पनि प्रयोग गरिएको हो । अहिले समय र समाज फेरिएको छ । सहरलाई रातमा पनि जागा बनाउँदै लैजान र यातायात प्रणालीलाई बिस्तार गर्दै लैजान आवश्यक छ । रात्रीकालीन सवारी सञ्चालनका लागि महानगरले केही सहयोग गर्छ, त्यसमा थपेर व्यवसायीलाई सेवा बढाउन प्रेरित गर्नुपर्छ ।’ मेयर शाक्यको भनाइ थियो । सेवा शुरु गर्दा पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सवारी सञ्चालन गर्ने बिषयमा बैठक केन्द्रीत थियो ।
हामीले यस अघि नमूनाका रुपमा डुँडिखेल वरिपरि ‘पिक एण्ड ड्रप’ शुुरु गरिसकेका छौं । शुरुमा केही आलोचना भए पनि अहिले त्यसको प्रभाव सकारात्मक परेको छ,’ मेयर शाक्यले भने, ‘सार्वजनिक यातायातले यात्रु पर्खिने होइन, यात्रुले चाहिँ पर्खेर सवारी चढ्न यात्रुलाई अभ्यस्त गराउँदै लैजानु पर्छ । पहिलेको १८ महिना रात्री सेवा सञ्चालनको अनुभव छ । त्यसको सिकाइलाई उपयोग गरेर दिगो सेवा व्यवस्थापनको काम गरौं ।’
उक्त बैठकमा यातायात व्यवस्था बिभागका महानिर्देशक गोगनबहादुर हमालले, साँझ वा त्यसपछिको समयमा मानिसहरु बाहिर निस्कने वातावरण तयार गर्दै सवारी सञ्चालनलाई यससँग जोड्नु पर्ने बताए । ‘प्रस्ताव सकारात्मक छ,’ उनले भने, ‘रात्रीकालीन सेवा सञ्चालन गर्नुको विकल्प छैन । यसलाई छिटै कार्यान्वयन गर्ने गरी अघि बढौँ ।’ बैठकमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले, जिल्ला प्रशासन कार्यालयले सबन्वयको काम गर्ने बताउँदै सकारात्मक योजनालाई चाँडै अघि बढाउनु पर्ने बताए ।
काठमाडौंका मानिसहरु चाँडै घर फर्कन्छन् । यहाँको सामाजिक परिवेश नै त्यस्तै छ । बैठकमा बोल्दै काठमाडौं महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले रात्रीकालीन बजार चलाउँदै जाने, सडकमा पर्याप्त प्रकाशको व्यवस्था गरिदिने कामलाई पनि सँगै लैजाने योजना अघि बढाउनुपर्ने सुझाव दिए ।
रातको समयमा सबै ठाउँमा यात्रुको समान चाप हुँदैन, महानगरका सहसचिव राजेश्वर ज्ञवालीले कोरियामा यस प्रकारको कार्यक्रम कार्यान्वयन गर्दा टेलिकम्युनिकेसनबाट कुन ठाउँमा यात्रुको कस्तो खालको चाप छ, अध्ययन गरेर रुट निर्धारण गरिएको अभ्यास काठमाडौंको सन्दर्भमा पनि उपयुक्त हुन सक्ने बताए ।
महानगरीय ट्राफिक महाशाखा रामशाहपथका प्रहरी उपरीक्षक राजकुमार बैदवारले रात्रीकालीन व्यवसायलाई प्रबर्धन र सहरी सेवालाई थप प्रभावकारी बनाउन सेवा सञ्चालन गर्नुको विकल्प नभएको बताए । रात्रीकालीन यातायातले नेपाल भ्रमण वर्षमा नेपाल आउने पर्यटकका लागि पनि सहयोग पुग्छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक विमल बस्नेतले भने यसले स्थानीयमा पनि घुम्ने संस्कार बसाउन मद्दत गर्छ ।
बिगतमा अभ्यास गरियो । अबको थालनी चाहिँ दिगो हुने गरी गर्नुपर्छ । बैठकमा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष धर्मराज रिमालले भने अनुदान दिएरभन्दा भाडा दरमा वृद्धि गरेर सेवालाई दिगो बनाउन सकिने बताए । शुरुवात्मा हामी कम्तीमा १५ वटा रुटमा ६० वटा सवारी साधनबाट सेवा सञ्चालन गर्न सक्छौं । यसका लागि सरकारले रात्रीकालीन सेवामा ५० प्रतिशत भाडा वृद्धि गरिदिनुपर्छ । रिमालको माग थियो ।
बैठकले रात्रीकालीन यातायात सेवा सञ्चालन तथा व्यवस्थापन गर्न महानगरको सहरी शुशासन बिभागका प्रमुख हरिबहादुर कुँवरको संयोजकत्वमा सरोकारवाला कार्यालयका प्रतिनिधि रहने कार्यदल पनि गठन गरेको छ ।
यसको सदस्यमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय, यातायात व्यवस्था बिभागलगायत कार्यालय र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघलगायत संघ संगठनका प्रतिनिधिलाई सदस्य राखिएको छ ।
फोटो सौजन्य : काठमाण्डौ अनलाइन