याङ्ग्री लार्केको पानी ल्याउने बाटो खुल्यो
कपन अनलाइन
काठमाडौँ, फागुन १ । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण अन्तर्गत याङ्ग्री लार्के आयोजना कार्यान्वयन गर्ने शिलशिलामा पाँचपोखरी थाङपाल गाउँपालिकाबीच सम्झौता सम्पन्न भएको छ । पहिलो चरण मेलम्चीको १७ करोड लिटर पानी ल्याउने काम करिब सम्पन्न हुने दौरानमा रहेको छ ।
अब दोस्रो चरण अन्तर्गत ३४ करोड लिटर पानी काठमाण्डौ उपत्यकामा ल्याउँदा प्रभावित हुने स्थान र जनताले के – के सुविधा पाउने भन्ने विषयमा केही विवाद कायम थियो । तर अब त्यो विवाद अन्त्य भएपछि सहमति पत्रमा हस्ताक्षर गर्ने काम सम्पन्न भएको हो ।
दुवै नदिबाट पानी पठाएबापत प्रभावित जनताले पाउने सुविधाका सम्बन्धमा गाउँपालिका र सरोकार समितिका तर्फबाट ९ वटा माग प्रस्तुत गरिएको र ति मागहरु पुरा गर्न समितिले सहमति जनाएपछि यो अवस्था सिर्जना भएको छ ।
आयोजना कार्यान्वयन गर्दा स्थानीय सरकार तथा समुदायमा विश्वासको वातावरण सिर्जना हुने र आयोजना समयमै सम्पन्न हुने आधारशिला तय हुने हेतुले मेलम्ची खानेपानी विकास समितिका तर्फबाट समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्री र गाउँपालिका अध्यक्ष टासी लामाबीच सोही क्षेत्रका संघीय सांसद शेर बहादुर तामाङ र सामाजिक विकास विज्ञ शम्भु प्रसाद कट्टेलको रोहबरमा सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
याङ्ग्री लार्के सरोकार समिति, गाउँपालिका र समितिबीच पटक पटक भएको घनिभूत छलफल पश्चात यो सम्झौता भएपछि अब दोस्रो चरणको कामले गति लिने र समयमै आयोजना सम्पन्न हुने कुरामा सम्बद्ध पक्ष ढुक्क देखिएको छ ।