सिङ्गो सहरमा हराउने म !
कपन अनलाइन
काठमाडौं, माघ १०। आश्मा उपाध्याय/ कविता
खुल्ला गगन मेरो छानो हो
शितल वृक्ष काख छहारी
सडक हुन् मेरा हितैसी मित्र
प्रकृति आमा मेरी पियारी
लूटपुटाउँछु सडक पेटीमा
सिङ्गो कालो रात लाग्छ उज्यालो
मागेको रोटी साथीले खायो
धर्तीमा यत्रतत्र छरिएका
चिउराको आज मेरो पालो
चिसा कठिङ्ग्रा रातमा
न्यानो निद्रामा नग्न जब म हराउँछु
आहा ! आमा प्रिय माता
तिम्रो काखको आभास पाउँछु
झस्किँदै, जब उघार्छु नयन मेरा
एकलास सडकमा म पाउँछु
तिम्रो वक्षस्थल अँगाल्दै आमा
म शिला सिरानी समाउँछु
आँसुको प्यालामा पवित्र शरीर
भोको उदर जीवनको विशेषता
उभिएको छु विशाल सहरमा
तर सारा जग छ अस्तव्यस्त
खै ? किन हो आजभोलि दुख्छ पेट
दुई हातले थिची छटपटाउँछु
खुला आकाशमुनी पनि
चार भित्ते कोठामा सरि
आफ्नो चिच्याहट आफैँतिर फर्केको पाउँछु
खुसी छु म एक्लो छैन
मेरो साथमा नि कोहि रमाउँछन्
भेटेका कुरा आधी खाइदिने
मेरा कुकुर मेरो पिडामा संगै कराउँछने
थर के हो ? नाम के हो ?
पहिचान सबै हरायो
अहो ! सिङ्गो सहरमा हराउने म !
सडक बालकको नाम जीवनले पायो