देशको माटो !
कपन अनलाइन
काठमाडौं, माघ १०/ त्रिलोचनआचार्य/ कविता
कसरी देशको माटो छाती भित्र सजाउने ?
भन्दै बालक सोध्दैछन् के हो मैले बताउने ?
तैपनि भन्छु हो माटो पूजाको दिव्य चन्दन
साह्रै छ यसको मान सम्मान सब लौ सुन ।
धर्ती हो देशको माटो हामी त्यैँ बास गर्दछौँ
आस्था हो देशको माटो जहाँ विश्वास भर्दछौँ
चुली हो देशको माटो जहाँ आकाश साथ छ
यै हाम्रो मुटुमा माटो अनेकौँ खात–खात छ ।
माटो हिमाल हो अग्लो तराई सम्म फाँट हो
बेँशी वा लेक हो माटो, माटो जीवन ठाँट हो
माटो यो खेत बारी हो माटो नै नदी ताल हो
माटो कमाइ हो हाम्रो माटो नै साग दाल हो ।
जान्नेले गीतका भाका माटै घोलेर गाउँछन्
जाने विदेश ती मान्छे माटै सम्झेर आउँछन्
माटो शिक्षकले पुज्छन् बोक्दै डस्टर वा चक
माटोकै अर्चना भन्दै उठ्छन् किसान झट्पट ।
माटो यो पुज्दछू भन्दै प्राणै शहिदले दिए
माटोको हित सोचेर अनेकौँ युद्ध छेडिए
माटो सजाउला भन्दै बुद्धका भाव ल्याइए
सजाउन भनी माटो संविधान बनाइए ।
माटो अमूल्य नै हुन्छ पैसाले किनिदैँन यो
माटो हृदयले चिन्छ आँखाले चिनिदैन यो
माटो यो भावले पढ्छ बोल्दैमा पढिँदैन यो
हो, अग्लो दुर्ग हो माटो स्वार्थले चढिँदैन यो ।
तस्मात् बाबु तिमी बुझ्दै जाऊ माटो अनन्त छ
नरहे भूमि यो हुन्छ छातीमा तक सञ्चित
देश दुख्दा स्वयं माटो दुख्छ घाउ भएसरि
देश उठ्दा स्वयं माटो उठ्छ चम्कन्छ बेसरी ।