खै के लेखौं ?
कपन अनलाइन
काठमाडौं ,पौष २६/ राम आचार्य ‘पुष्पप्रेमी’
मन भित्र भित्रै दबिएका
जानेका, सुनेका अनि गुनेका
आफैले सिकेका
कसैद्वारा सिकाईएका
थुप्रै भावनाहरु पोखें
कथा, कहानी र कविताहरुमा ।
दन्त्य कथा, प्राचीन
सवाईहरु लेखें ।
मनको कलमले
मनकै मसीदानीमा चोवेर
सामाजिक उत्पिडन, कुरीति र
अन्याय अत्यचारका
आवाजहरु लेखें ।
बाले भोगेका
हली, हलुवा र चरुवाका
वेदनाभित्र रुमलिएका
बाध्यताका कथा लेखें
आमाले स्वीकारेका
दासत्वका पीडाहरु लेखें
धर्मभित्र लुकेका ब्यभिचारहरु
समाजमा मौलाउँदै गरेका
अत्यचारहरु
झुपडीमा बगेका
पसिनाका मोलहरु
राज्यभित्र फस्टाएका
भ्रष्टचारहरु
ऊ भनेर तोक्न नसकेपछि
म भनेर लेखें ।
जाने जति
सुने जति सबै लेखें ।
छोरीमाथि हुने
विभेदका गाथाहरु
नारीका अपमानका कथाहरु
गरिबका आँखाबाट
पोखिएका आँसुहरु
गाउँ बस्तिमा
झाँगिदै गएका
भोक र अभावका चित्कारहरु
औंलाका कलमहरुले
हत्केलाको धुलौटोमा
आशाका सपनाहरु देखें
भावनाका तरङ्गहरु
अक्षर बनाएर दौडाएँ,
कति कुरा मनले भने
कति कुरा आवाजमा चिच्याएँ
जति सुनाउन सकिन
बाँकी सबै
मनको क्यान्भासमा
मूहूर्त वा अमूहूर्त
चित्रहरुमा उतारें ।
आशीर्वाद र आस्वसनका
अनगिन्ति भावहरु
राहातमा मिसाइएका
धेरै आहातहरु
सुशासन भित्र टुसाएका
कुशासनहरु
परिवर्तको आश्वसनको सर्वतमा
बीस मिसाएर
घायल भएको
नेपाली समाजका राग र
अनुरागहरु लेखें
अझै अनन्त जिवित
ईतिहास निहाल्नु छ
अनि लेख्नु नै छ
खै के लेख्नु र कविता ?