नानी आज रमाउँदैन !
कपन अनलाइन
काठमाडौं,पुस १८/ त्रिलोचनआचार्य
मुर्दा शान्ति बढी रहे नयनले सौन्दर्य के देख्दथ्यो
भासिन्छिन् धरती भने कलमले सोचेर के लेख्दथ्यो
छायामा किन खुल्छ कान्ति सुकिलो के बुझ्छ ढुङ्गा अनि
नानी आज रमाउँदैनकिन हो ? देखेर चङ्गा पनि ।
घुम्दा घाम फिँजारिएर त्यसले छर्दैन तातो पनि
झन् उत्साह जगाउँदै प्रकृतिको घुम्दैन जाँतो पनि
भै थुप्रो सुन त्यो हिमालयचुली छर्दैन आकर्षण
नानी आज रमाउँदैन उसकी आमा नहाँसीकन ।
बाटो मानिस हिँड्दछन् फगत त्यो ठानिन्छ बाक्लो भिड
पंक्षी आज परी रहेछ द्विविधा छाडौँ नछाडौँ गुँड
खोला कल्कल बग्दथे विरहका बोल्छन् कि बेग्लै व्यथा
नानी आज रमाउँदैन कि सुन्यो त्यो लिम्पियाको कथा ।
यात्री अल्मल देखिँदैछ कि भुल्यो गन्तव्य चुम्ने पथ
जान्छन् लौ न कता महारथिहरू हाँकेर आफ्नो रथ
कालो बादलले चुमी गगनमा फन्को लगाई दिँदा
नानी आज रमाउँदैन बिचरा तर्सेछ आमा रुँदा ।
के लेख्छौ कविजी कथेर कविता क्या शान्ति छायो भनी
के कुद्छौ परदेशमा भन युवा थुप्रै कमाए पनि
कोखा पश्चिमको दुःखेर जननी गर्छिन् यहाँ छट्पटी
नानी आज रमाउँदैन घरमा भो सम्झ क्यै गड्बडी ।
चोखो घाम यतै सजाउनु पर्यो फालेर कालो कुना
आऊ घाउ सफा गरौँ सब मिली को दिन्छ जैल्यै रूँन
के खप्ने हद हुन्छ चट्ट छरितो पर्खाल लाऊँ बरु
नानी आज रमाउँदैनभन के सोचेर बस्ने अरु ?