एक स्रष्टा दुई सिर्जना !

एक स्रष्टा दुई सिर्जना !

कपन अनलाइन

काठमाडौँ, पुस ४। तिलकप्रसाद लुइटेल

गङ्गा आचार्यले लेखेका ‘‘आस्थाको आँचल’’ मुक्तकसङ्ग्रह र ‘‘छाउपडीका देवता’’ लघुकथा सङ्ग्रह दुईटै किताब मैले पढेको छु । दुईटै किताब राम्रा छन् । आफूले पढेको किताब राम्रो छ भनेर मैले त मानेँ तर अरुलाई त्यस्तै लाग्न पनि सक्छ नलाग्न पनि सक्छ । किनभने विचार आआफ्नो हुन्छ ।आफूलाई किन राम्रो लागे भनेर लेख्न खोज्दा कताबाट सुरु गर्ने भनेर पत्तै पाइएन । दुईटै किताबमा चित्त बुझ्ने कुरा छन् । बुझ्न जति सजिलो, भन्न त्यति सजिलो छैन, भन्न जति सजिलो, लेख्न त्यति सजिलो छैन । यो चाहिँ मलाई लागेको कुरो हो । अरुलाई पनि यस्तै लाग्छ कि लाग्दैन, त्यो थाहा भएन । मैले विचार गर्दा दुई दुई वटा किताबमा मनको कुरो जस्ताको तस्तै लेख्न गङ्गा आचार्यलाई कति सजिलो भयो होला वा कति अप्ठारो भयो मैले थाहा पाइनँ । लेख्न मन लाग्यो, कताबाट थालूँ, कसरी मिलाउँदै लेखूँ अहिले त्यस्तै भएको छ । कतै यी किताब लेख्ता गङ्गा आचार्यलाई पनि यस्तै पो भएको थियो कि ?
पर्वत जिल्लाको जलजलामा जन्मेकी गङ्गा आचार्यको स्नाताकोत्तरसम्म अध्ययन, शिक्षणसेवाबाट अवकाश र पाँचवटा सामाजिक–साहित्यिक संस्थाहरुमा आबद्ध रहेको व्यक्तित्व सुशिक्षित र सामाजिक चेतना व्यापक भएको देखिन्छ । पहिलो कृति मुक्तक सङ्ग्रह हो । मुक्तकका विषयमा भन्नुपर्दा—
पूर्वीय मान्यता अनुसार धर्म, अर्थ, काम र मोक्ष यी चार जीवनका पुरुषार्थ हुन् । यस मान्यताका आधारमा मोक्ष नै जीवनको अन्तिम सार्थकता हो । मुक्तिसँग यसको अर्थ मेल खान्छ । ज्ञान आर्जन गरेपछि मुक्ति पाइन्छ र मुक्ति पाएर मानिस ‘मुक्त’ हुन्छ । जीवनमा पराधीनता नहुनु वा मृत्युपछि संसारचक्रबाट आत्माले मुक्ति प्राप्त गरेको अवस्था नै मुक्त हो । नेपाली बृहत् शब्दकोशमा पनि मुक्त शब्दको अर्थ— स्वतन्त्र गरिएको, बन्धनमा नपारिएको, त्यागिएको र मोक्ष प्राप्त गरेको भन्ने छ । त्यसैले जीवनमा परतन्त्रबाट र मृत्युपछि आत्माले समेत मुक्ति प्राप्त गर्नु नै मुक्त हुनु हो । यो संस्कृत मूलको शब्द हो । त्यसैले जीवनको सफलताका विषयमा चर्चा गर्ने संस्कृतका ग्रन्थहरु धेरैमा यसको प्रयोग प्रशस्त पाइन्छ ।
‘मुक्त’ शब्दमा ‘क’ थपिएर मुक्तक शब्द बनेको देखिन्छ । यसरी पछाडि ‘क’ थपिएर बनेका शब्द संस्कृतमा अरु पनि धेरै पाइन्छन् । जस्तै ः लेखक, पाठक, विचारक, चिन्तक, जनक, धावक । यी शब्दहरु हेरेर विचार गर्दा सम्बन्धित कार्य ‘क’ ले गर्ने वा गराउने भन्ने अर्थ दिएको देखिन्छ । त्यसैले शब्द बनेका आधारमा ‘मुक्तक’ शब्दको निर्माण संस्कृतकै धातुमा संस्कृतकै प्रत्यय गाँसिएको हो भन्ने स्पष्ट भयो । लेखनकर्ता लेखक, पठनकर्ता पाठक, विचारकर्ता विचारक, चिन्तनकर्ता चिन्तक, जननकर्ता जनक, धावनकर्ता धावक जस्तै ‘मुक्तक’को पनि अर्थ लागेकै छ । मुक्तकलाई नेपाली बृहत् शब्दकोशले पनि समासरहित ‘गद्य’ र कथासूत्रमा आबद्ध नभएको स्वतन्त्र ‘कविता’ भनेको छ । ‘मुक्तककाव्य’को अर्थ पनि छुट्टै दिएको छ । काव्य भएपछि स्पष्टतः साहित्य नै भयो । अतः मुक्तक गद्य साहित्य र कविता साहित्य दुवै हो भन्ने बुझियो । गङ्गा आचार्यको आस्थाको आँचलनामको मुक्तक सङ्ग्रहबाट तल दुई मुक्तक लिइएका छन्—
घाम बलेको प्रचण्ड रापले
जलेको छ धर्ती सोही तापले
छैन गङ्गा तटमै शीतलता
थप धुवाँ र धुलोको प्रभावले ।।
यस मुक्तकमा काठमाडौँको पानीको अभावलाई सङ्केत गरेको छ । नेपाल जलस्रोतको धनी देश हो, त्यसको पनि राजधानी यसरी पानीको अभाव, धुवाँ र धुलोले मैलिएको वर्तमानको यथार्थ हो । मुक्तकका शब्दले समाधान खोजिदिएको त छैन तर पनि यस्तो अवस्था के कारण उत्पन्न भयो वा समाधान कहाँ छ भनेर सोच्ने ठाउँ देखिन्छ । तेस्रो हरफमा मुक्तककार गङ्गा आचार्यले आफ्नो नाम पनि अटाउँदै देश दुनियाँको यो बिजोक देख्ता आफू पनि व्यथित भएको जानकारी गराएको पाइयो ।
सम्बन्ध जोडियो हाम्रो आपसमा चाहेर
तिम्रो घर आएथेँ सुन्दर सपना सजाएर
छाला हेर्ने नजरले देखेनौ भित्री सौन्दर्य
दाइजो रोजी अर्धाङ्गिनी मार्यौ जलाएर ।।

यस मुक्तकमा सामाजिक परम्परा, नारी हृदयको रहर, आशावादी जीवनको उमङ्ग, रुप भन्दा गुनको बढी कदर हुने कुराको चर्चा भएको छ । अन्तमा आउँदा समाजमा भित्रिएका कुप्रथाको उल्लेख छ । यी प्राप्तिलाई जोगाउने र नकारात्मक प्रभाव पार्ने चलनलाई सच्याउने जिम्मा कसको हो भन्ने मुक्तकमा नदेखिए पनि यसतर्फ सोच्नका लागि मुक्तकले अपेक्षा गर्छ ।
मुक्तकले अपेक्षा गरेको भावलाई आत्मसात् गर्दै ‘‘आस्थाको आँचल’’ जम्मा ८३ पृष्ठमा समाप्त भएको छ र त्यसमा २५० वटा मुक्तक अटाएका छन् । सबै मुक्तकहरु खँदिलो चेतना बोकेर नै आएका छन् । मनन गर्ने मनले आआफ्ना पाराले तिनमा भएको सार अवश्य फेला पार्न सक्छ । चिटिक्क परेको पुस्तकको आवरण राम्रो छ ।
अर्को पुस्तक ‘‘छाउपडीको देवता’’ को पनि थोरै कुरा गर्ने विचार गरेको छु । यसको आकार झन सानो अझ चिटिक्क परेको छ । देख्नमा आकर्षक छ । यसमा जम्मा ५७ वटा लघुकथा अटाएका छन् । पुस्तक ११२ पृष्ठमा समाप्त भएको छ । विधा नै लघुकथा हुनाले कथा छोटा छन् भनिराख्नु परेन ।
मैले यी लघुकथाहरु फेसबुकमा पढ्दै आएको हुँ । कथाले आफ्नै किसिमले सन्तुष्टि दिएकै हुन् । त्यसैले एउटा पाठक भएर कथाहरु मनन गरेको छु । पाठकको आआफ्नो रुचि हुन्छ । कथाकार पनि महिला र पुस्तकको नाम पनि महिलाको समस्यासँग सम्बन्धित नै देखिएको हुनाले नारीवादी कथाको सङ्ग्रह हो कि भन्ने लाग्छ । सबै कथाहरु पढ्दै जाँदा केवल महिला समस्या मात्रै यहाँभित्र छैन । यहाँ धेरै कुरा छन् ।
समस्यामा परेको महिला र त्यसमा सम्बन्ध भएको पात्र दुवैको जिम्मेवारी कथाले बोध गराउँछन् । त्यसै गरी कुनै कथाहरुमा अभिभावक र सन्तानको सम्बन्ध, छिमेकी छिमेकीको सम्बन्ध, एकै घरबाट छुट्टिएका दाजुभाइको सम्बन्ध, वृद्ध सासुससुरा र छोराबुहारीको सम्बन्ध, ससुराली र ज्वाइँ चेलाको सम्बन्ध यस्ता पारिवारिक जीवनका कुराहरु त छँदै छन् । त्यसका अतिरिक्त देशको अवस्था, समाज सुधारको चेतना जस्ता कुराका साथै समाजमा बिस्तारै मौलाउन लागेका विसङ्गति आदिको पनि चर्चा यी कथाले आफ्नो आयाम अनुसार गरेकै छन् । समाजमा घटित घटनाको प्रत्यक्षदर्शी भएर कुशल साक्षीले अदालतमा जस्ताको तस्तै बयान दिएको जस्तै दुरुस्त रुप कथालाई दिन सक्नु यो गङ्गाको खुबी हो ।
लामो समयदेखि पढ्दै आएका कथाहरुको सङ्ग्रह प्रकाशन हुने तयारीमा रहेको थाहा पाउँदा खुसी लाग्यो र एउटा छोटो शुभकामना पनि लेखिदिएँ । सीमित ठाउँमा सबै कुरा राख्न मिलको थिएन । प्रायः जसको पनि पुस्तक हातमा परेपछि त्यसलाई पढेर केही लेख्ने गर्छु । त्यसरी नै यो पुस्तक पनि मेरा हातमा आयो । त्यसैले केही कुरा यसका विषयमा पनि लेख्न मन लाग्यो । मुक्तक सङ्ग्रहको कुरा गर्दा दुई वटा मुक्तक उद्धरण गरेँ तापनि पनि यहाँ कथाको चाहिँ उद्धरण नगरीकन छोडेको छु । त्यसको कारण के हो भने पाठकले कथा आफैँ पुस्तक पल्टाएर पढेको राम्रो । सबै कथा पढेको राम्रो । मलाई सबै कथा स्वादिला लाग्छन् तर स्वाद भिन्न भिन्न क्षेत्रको छ, त्यो भनिसकेँ ।

सबै कथा एकनास र एकरस नभएर उन्नाईस बीस हुनु स्वाभाविकै हो । कुनै कुनै एक पृष्ठ र आधा छन् भने कुनै एकै पृष्ठमा अटाएका छन् । यद्यपि अक्षर अलिक साना नै हुन् । कथाहरु छोटा भए पनि प्रभावकारिता दीर्घकालीन बोकेका छन् । पाठकले पढेका कथाको घटना मनमा अडिन्छ । त्यति प्रभावकारी घटना छनोट भएको छ र प्रस्तुति पनि उस्तै लोभ लाग्दो छ ।
कुनै कथा घटनाका बीचबाट थालिएको जस्तो देखिन्छ (पृष्ठ २९, ‘खोट’) । पाठकले पढ्दै जाँदा कुनैको बीचमै र कुनैको अन्तमा उत्कण्ठा मेटिन्छ । कुनै कथाको प्रवेशमा नदेखिएको उत्कण्ठा अगाडि बढ्दै जान्छ र समाप्तिमा समाधान पाइन्छ (पृष्ठ ६२, ‘आरोप’) । पाठकलाई रनभुल्लमा पारेर आफैँ दिमाग खियाउनुपर्ने अच्कल्टो अवस्था कुनै कथामा छोडेको छैन । यसरी कुतूहलसँग कथाकारले राम्ररी कौतुक गरेको पक्ष रमाइलो छ ।
आज हामीले भोगिआएका धेरैजसो दुःखको मुख्य कारण नै दृष्टिको दोष हो, सृष्टिको होइन । आफूसँगै भएकालाई नदेखेर पर भएकामा आँखा लगाउने हुँदा विनाअर्थको दुःख मान्छेले झेल्छ । त्यसरी दुःख पाउनेमा कम्तीमा दुई पात्र हुन्छन् । त्यसैले एकले अर्कालाई दोषारोपण गर्छ । समाजमा रहेका हरेक पात्रमा यस्तो द्वन्द्व हुन्छ । यस्ता दोहोरो सम्बन्धमा कथाले प्रायः सकारात्मक दृष्टिकोणबाटै समाधान निकालेको छ । कथाकारको यो अर्को एउटा खुबी हो ।
कथाले कतै नकारात्मक पाटाहरुको चर्चा नै उठाएका छैनन् भन्ने पनि होइन । अन्यायमा परेको छु भन्ने कसैले अनुभव गरेपछि नै उसले प्रतिवाद गर्छ । त्यसरी आफू अन्यायमा परेको छु भन्ने पात्रको पनि मनोवृत्तिलाई कथाले बोकेर आएका छन् । उनको विद्रोह पनि छ । कथाका उठानमा वा समाधानको यात्रामा पात्रको मन आन्दोलित भएकै छ भने पनि समग्र कथाले दिने समाधानमा शालीनतालाई नै स्वीकार गरेको छ । यो एउटा असल नेतृत्वदायी व्यक्तिको गुण हो ।
जीवनका वास्तविक घटनासँग हुबहु मेल खाने कथा पनि छन् । हुन सक्छ कथाकारले ती देखेका वा भोगेका पनि होलान् । त्यस्ता कथामा लेखकको कुशलता विशेष सचेत भएको देखिन्छ । सोझै कसैलाई घोचपेच गरेको भन्ने नदेखिएर वास्तविक घटनामा काल्पनिकताको लेपनले सिँगारेको छ । कथा पढ्दाको रमाइलो पनि त्यहीँ पाइन्छ ।
कथाहरु सामाजिक पृष्ठभूमिबाट लेखिएका हुनाले सबै कथामा सामाजिक पात्रहरु नै छन्, सामाजिक घटना नै छ, भाषाशैली पात्रको देश, काल र परिस्थिति अनुसारका छन् । त्यसैले पारलौकिक वा अवास्तविक पात्र, घटना र गतिविधि पाइँदैन । यसो भएकाले पाठकले अनुभूत गर्न सारै सजिलो भएको छ । त्यसका साथै बिग्रेको, बिथोलिएको कुरालाई सुधार र सचेत गराउने विषयवस्तु बोकेका कथाहरु पनि पाइन्छन् । तिनमा नाराबाजी लगाएको, ठाडो आलोचना गरेको वा विकृतिको पक्षमा औँलो ठड्याइएको मात्रै छैन । कथाले समाधानको खोजी पनि गरेका छन् ।
साहित्यलाई धर्म, अर्थ, काम र मोक्ष नामका जीवनका चार पुरुषार्थ प्रदान गर्ने साधन मानिएको छ । यी लघुकथालाई विचार गर्दा छोटो प्रस्तुतिमा यस्तो विशाल कुरो अटेको पक्ष पनि अद्भुत लाग्छ र साहित्य शब्दको सार्थकता पनि प्रदान गरेको नै लाग्छ । त्यसो हुनाले साहित्यकोचर्चा हुने सन्दर्भमा यसको विचार विमर्श भएको पाइन्छ ।
रचनाकारले आफ्ना मनको भावल लिखित रुपमा बोलेको हुनाले नै यी रचना तयार भए । जोसँग जे छ, उसले त्यही दिन्छ । वस्तु भईकन सिप नहुँदा पनि मानिसले दुःख पाउँछ र सिप त छ तर वस्तु छैन भने पनि दुःख नै पाउँछ । यी दुवै कृतिमा हेर्दा गङ्गा आचार्यसँग ज्ञानको खजाना पनि छ र पस्कने कुशलता पनि छ भन्ने लाग्छ । त्यसैले दुवै कृति भाव, भाषा र प्रस्तुतिका दृष्टिले सम्पन्न छन् । यिनमा दरिद्रता देखिँदैन । यिनै विचारलाई मुक्तक वा लघुकथाको शैले र सिपमा नजोडीकन भन्ने हो भने काम लाग्ने कुरा त पक्कै हुन्थ्यो तर घत लाग्ने चाहिँ हुन्थ्यो वा हुँदैनथ्यो, त्यो भन्न सकिन्न । आफूले भोगेको कुरा त पस्केको छँदै छ, अर्काको भोगाइ र मनोभाव समेत कुशल शैलीमा देखाउन सक्नु प्रशंसायोग्य कुरा हो । हातमा कलम भएको एउटा व्यक्तिले गर्न सक्ने पनि यति नै हो । गल्ती त्रुटि काम गरिएका ठाउँमै हुन्छन् र काम गर्ने मान्छेले नै गर्छ । सकेसम्म सुन्दर बनाउने प्रयास गर्दा गर्दै त्रुटि रहन्छ भने त्यसमा अर्कोपटक संशोधन गर्ने वाचा गर्नु नै उचित समाधान हो । दुवै पुस्तकमा प्राविधिक पक्षमा संशोधनको ठाउँ अलिअलि देखिन्छ । त्यस बाहेक पनि मैले मेरो नाम तिलकप्रसाद लुइटेल लेख्ने गर्छु । त्यसो लेखिनुपर्नेमा केही भिन्न भएको छ । त्यस्तै मैले नै लेखेको ‘आबालवृद्धवनिता’ शब्दलाई ‘आबाल, वृद्ध, वनिता’ लेखिएको छ । यो प्राविधिक त्रुटि नहोला । समग्रमा भन्नुपर्दा भावलाई कलात्मक रुपले लिपिबद्ध गर्ने गङ्गा आचार्य सुहाउँदो साहित्यकार हुन् । उनका साहित्यमा सत्यता, सुन्दरता र हित अटाएको छ ।
सत्यको बाटो हिँड्न सजिलो हुन्छ । एक प्रश्नका अनेक उत्तर अनेक मानिसले दिन सक्छन् । किनभने हरेक मानिस आआफ्नो धरातलमा उभिएको हुन्छ र आआफ्नो कोणबाट कुरा गरेको हुन्छ । ती सबै विविधतालाई समग्र रुपमा हेर्ने हो भने एक ढिक्का र निर्विकल्प सत्य प्रकट हुन्छ । त्यहाँसम्म पुग्ने धैर्य नराखीकन निष्कर्षमा पुग्नु अघि नै मानिस आफूले सत्य बोलेको अर्काले झुटो बोल्दै छ भन्यो भने त्यसैले भ्रम हुन्छ, स्वार्थ बाझिन्छ र कलह उत्पन्न हुन्छ । त्यो नै दुःखको कारण बन्छ । सत्यमा कृत्रिमताको लेपन दल्नु पर्दैन । जस्ताको तस्तै बोल्नका लागि बनावटी शब्द सापटी लिनु पनि पर्दैन । सुन्दर साहित्य त्यही नै हो । कलात्मक प्रस्तुति हुनुपर्दा भाषामा सुन्दरता चाहिन्छ । सत्यमा सक्कलीपन हुन्छ । दुवै पुस्तकमा हेर्दा समाजहितको गुण अटेको पाइन्छ । दुवै सुन्दर छन् ।

तपाइँको प्रतिक्रिया ।