तिमी एक रहस्य रहेछौ !

तिमी एक रहस्य रहेछौ !

कपनअनलाइन

काठमाडौं, मंसिर १५/ राजबाबु श्रेष्ठ ‘सागर’/ कविता

म छक्कै पर्छु

यत्ति मात्रै कहाँ हो र !

प्रकृति देखेर, म दङ्गै पर्छु

जसरी भगवान

मलाई देखेर दङ्ग पर्दो हो ।

ए भगवान !

तिमी कति बाठो

मान्छेलाई दृश्यमा नाङ्गो जन्मायौ

तिमीले मृत्युलाई अदृश्य जन्मायौ

र दृश्यलाई देख्ने जन्मायौ

हो ! वास्तवमा मान्छेहरू नाङ्गै त रहेछन्

भ्रष्टचारमा नाङ्गिन्छन्

बलात्कारमा नाङ्गिन्छन्

व्यबहारमा नाङ्गिन्छन्

सीमा बेचेर नाङ्गिन्छन्

आमा बेचेर नाङ्गिन्छन्

छोरी बेचेर नाङ्गिन्छन्

देश बेचेर नाङ्गिन्छन्

स्वाभिमान बेचेर नाङ्गिन्छन्

ईमान्दारी बेचेर नाङ्गिन्छन्

यौन बेचेर नाङ्गिन्छन्

ए भगवान तिमी कति बाठो !

आँखा हुनेहरू केवल खोट देख्छन्

भ्रष्टाचारको नोट देख्छन्

तर देशको चोट देख्दैनन्

असत्यका तरवारले सत्य रेटिरहेछन्

तर तिमी सत्य भएर

फलामले फलाम काटेझैं

एक सत्यले अर्को सत्यलाई काटिरहेछौ

दृश्यलाई अदृश्यले मेटिरहेछौ ।

ए भगवान !

तिमी कति बाठो

तिम्रो अघि हामी सबै बोल्ने जिब्रो लाटो

ए भगवान तिमी कति बाठो ।

हो !

तिमी सत्य रहेछौ

जसरी म देख्दिनँ मृत्युलाई

तर मृत्युले मलाई देखिरहेछ

जसरी म देख्दिनँ तिमीलाई

तर तिमी मलाई देखिरेहेछौ ।

ए भगवान !

तिमी कति बाठो

हो !

तिमी सत्य रहेछौ

साँच्चै भनुँ,

तिमी एक रहस्य रहेछौ

बल्ल बुझ्दै छु म

तिमीले मृत्यु किन अदृश्य बनायौ ?

मृत्यु देखिन्थ्यो भने

तरवारले मृत्युलाई काट्थ्यो होला मान्छेहरूले

तिमी देखिन्थ्यौ भने

तिमीलाई पनि काट्थ्यो होला मान्छेहरूले । हो !

तिमी सत्य रहेछौ

साँच्चैं भनुँ,

तिमी एक रहस्य रहेछौ

ए भगवान !

तिमी कति बाठो !

तपाइँको प्रतिक्रिया ।